काठमाडौँ, ३ भदौ : युवा विद्यार्थी विदेश जाँदा नेपालका क्याम्पस खाली देखिन थालेकाले स्वदेशमै बस्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यहरूले जोड दिनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य सदस्य भुवनबहादुर सुनारले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थी विदेश गएका कारण क्याम्पसमा झार उम्रन थालेकाले नेपालमै बसेर पढ्ने वातावरण बनाउन माग गर्नुभएको हो । देशमै केही हुन्छ भन्ने भावनाको विकास गरी विदेश जाने विद्यार्थीलाई रोक्नुपर्ने उहाँहरूको भनाइ थियो ।
सदस्य नारायणदत्त भट्टले गौरीफन्टा नाका यथाशीघ्र सञ्चालन र झुलाघाटको पुल निर्माणका लागि प्रधानमन्त्रीको भारत भ्रमणका बेला प्रक्रिया अघि बढाउन माग गर्नुभयो । ठूलो दल भएर पनि नेपाली कांग्रेसले त्याग गरेको उल्लेख गर्दै यसबाट पाठ सिक्न सबै दललार्ई आह्वान गर्नुभयो ।
सदस्य गङ्गाकुमारी बेल्वासेले चाडपर्वको मौसम सुरू भएकाले पूर्व पश्चिम, उत्तर दक्षिणका सडक मार्ग मर्मत गर्न माग गर्नुभयो । सडकमा बनेका खाल्डाखुल्डी पुरेर चाडबाडको आवागमन सहज बनाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । तातोपानी, रसुवागढी नाका बन्द भएको नाममा बजारमा विकृति देखिएकाले अनुगमन गरी बजारलाई सहज बनाउनुपर्ने पनि सांसद बेल्वासेको भनाइ थियो ।
सदस्य इन्दिरा गौतमले जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको थियो । सकारात्मक कुरालाई पनि केही भएको छैन भनी गलत प्रचार गरिनु नहुने उहाँको भनाइ थियो ।