मोरङ, २ भदौ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पु-याउँदै आएको बताउनुभएको छ ।
विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवका अवसरमाआज आयोजित कार्यक्रममा उहाँले स्थानीय सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थाको अभ्यासलाई सुदृढ बनाउने भएकाले यसको संरक्षण र सबलीकरण गर्नु सबैको साझा जिम्मेवारी भएको धारणा राख्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले सञ्चारमाध्यमले ओझेलमा परेका स्थानीयको समस्या, जनजीविका एवं चुनौतीलाई उजागर गर्नुपर्ने सुझाव दिँदै भाषिक तथा सांस्कृतिक विविधतालाई बजबुत बनाउन पनि अग्रणी भूमिका खेल्न आग्रह गर्नुभयो । “सत्य,
निष्पक्ष र जनताको पक्षमा कलम चलाउँदा समाज सचेत, उत्तरदायी र प्रगतिशील हुन्छ । त्यसैले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी स्वदेशी उत्पादन वृद्धि र युवालाई स्वदेशमा गुणस्तरीय शिक्षा, रोजगारी उपलब्ध गराई ऊर्जाशील युवाको विदेश पलायन रोक्न लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यले प्रजातन्त्र ल्याउनेदेखि लोकतन्त्रलाई बचाउन महत्त्वपूर्ण योगदान पु-याएको स्मरण गर्नुभयो । यी दुई पार्टीको सहकार्यले राजनीतिक स्थायित्व हुनुका साथै विगत एक वर्षमा राजस्वमा रु एक खर्ब २० अर्ब एवं निर्यातमा ८३ प्रतिशत वृद्धिले हुँदा मुलुकको अर्थतन्त्र चलायमान भएको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यमले सत्य र तथ्यका आधारमा गलत कार्यको आलोचना एवं राम्रो कार्यको प्रशंसा गर्न चुक्न नहुने धारणा राख्नुभयो ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, प्रदेशसभा सदस्य भीम पराजुलीलगायतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मुलुकमा विकासले गति लिएको बताउनुभएको थियो ।
दैनिकका प्रधानसम्पादक मोहन भण्डारी, प्रा कृष्णप्रसाद पोखरेल, जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य सञ्जय सिंहलगायतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारीले दैनिकका सञ्चारकर्मी बाबुराम भण्डारी, मणिराम दाहाललगायतलाई सम्मान गर्नुभएको थियो ।