भाषागत समावेशिताले सङ्घीयताको मर्मलाई सम्बोधन गरेको छ : सञ्चारमन्त्री

  १० घण्टा अगाडि

काठमाडौँ, १ भदौ : सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भाषागत समावेशिताले सङ्घीयताको मर्मलाई सम्बोधन गरेको बताउनुभएको छ ।

तामाङ पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको तामाङ मिडिया अवार्ड कार्यक्रममा उहाँले अरु क्षेत्रमा भन्दा सरकारी सञ्चार माध्यममा समावेशी नीति प्रभावकारी देखिएको बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङका अनुसार राष्ट्रिय समाचार समिति(रासस), सार्वजनिक प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजन, गोरखापत्रले मातृभाषाका समाचार सम्प्रेषण गरेर समावेशिताको मर्मअनुसार सङ्घीयतालाई सुदृढ बनाउने प्रयास भएको छ ।

गोरखापत्रमा ४५, रेडियो नेपालमा २५ र राससले तीन वटा माभृभाषामा समाचार सम्प्रेषण गरिरहेको जानकारी दिँदै मन्त्री गुरुङले सञ्चार माध्यममा भाषागत समावेशिता प्रवद्र्धनलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुयो । उहाँले चालु आर्थिक वर्षमा राससले तामाङ भाषामा पनि समाचार सेवा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाको समितिमा छलफलमा रहेको मिडिया काउन्सिल विधेयक टुङ्गिने अवस्थामा रहेको तथा सरकारले हालै एआई नीति अनुमोदन गरेको जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधिमन्त्रीले ‘डिजीटल फ्रेमवर्क नेपाल’को परिकल्पनालाई साकार पार्न एआई नीति उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

एआई नीति कार्यान्वयन गर्न भौतिक संरचना निर्माण, ‘फोर जी नेटवर्क’लाई सबल बनाउने, ‘फाइभ जी नेटवर्क’ सुरु गर्ने, ‘डेटा सेन्टर’ खोल्ने गृहकार्यमा सरकार जुटेको उहाँले बताउनुभयो ।

त्यस अवसरमा मन्त्री गुरूङले पत्रकारद्वय टीकाराम तामाङ र मालती मोक्तानलाई पुरस्कार प्रदान गर्नुभयो ।

वाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्व्यन गराउन प्रतिबद्धता रहेको बताउनुभयो ।

तामाङ पत्रकार सङ्घका अध्यक्ष नेत्र तामाङले आफ्नो समुदायका पत्रकारको वत्तिविकासमा सघाउन पुरस्कारको व्यवस्था गरिएकोे बताउनुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया