प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर : स्वास्थ्यमन्त्री

  ३ घण्टा अगाडि

काठमाडौँ, ३१ साउन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका रुपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर रहेको बताउनुभएको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६६आँै वार्षिकोत्सवमा उहाँले प्रसूतिगृह नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले सुरु गरेको नियोनेटल स्क्रिनिङ, मिल्क बैंकजस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु । सरकारले हालै ल्याएको निःसन्तान उपचार मापदण्डको सफल कार्यान्वयनमा यस अस्पतालको पुनःस्थापित आइभिएफ सेवाले नेतृत्वदायी भूमिका खेल्नेछ ।”

मन्त्री पौडेलले भविष्यमा यस अस्पतालमा११ शय्या थप गरेर ५०० शय्या बनाइने बताउनुभयो । उहाँले काठमाडौँका दुई नगरपालिकामा २५-२५ शय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको जानकारी गराउनुभयो । उहाँले स्त्रीरोग, आमा तथा शिशु सुरक्षा कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रमसँग जोडिने पनि बताउनुभयो ।

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले स्त्रीरोगसम्बन्धी दुरबिन प्रविधिबाट हुने शल्यक्रिया, गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपिडी र फेटल तथा मेटर्नल इको सेवाले रिफरल दर घटाएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सफल प्रसूति गराइएको र बहिरङ्ग विभागबाट दुई लाख ३३ हजारभन्दा बढीले सेवा लिएका छन् ।”

उहाँले गत आवमा आठ हजार ६९३ जना निःसन्तानसम्बन्धी सेवाग्राहीहरुले ओपिडीबाट सेवा लिएको बताउनुभयो । कूल २९८ जना महिलाले आइयुआई सेवा र ४३ जना निःसन्तान सेवाग्राहीहरुले आइभीएफ सेवा लिएको जानकारी गराउनुभयो ।

डा अधिकारीले ¬‘नियोनेटल स्क्रिनिङ टेष्ट’ बाट हालसम्म यस अस्पतालमा करिब दुई हजार नवजात शिशुहरुको परीक्षण गरिएको र सोमध्ये २० जना नवजात शिशुहरुको विभिन्न रोगको पहिचान गरी उपचार गरिएको छ । यो टेष्टले भ्रुण तथा गर्भमा रहेको शिशुको आनुवांशिक रोगको निदान गर्न सहज भएको छ ।

यो अस्पताल विसं २०१६ भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको दिनमा ४० शय्याबाट परोपकार संस्थाले स्थापना गरेकोे हो । देशको एकमात्र महिला स्वास्थ्यसम्बन्धी यो केन्द्रीय विशिष्टीकृत अस्पताल हाल ४८९ शय्या सञ्चालनमा रहेको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया