भक्तपुर, ३० साउन : चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ रु एक लाख १० हजार धरौटी बुझाएर रिहा भएका छन् । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आजै धरौटीमा छाड्न आदेश दिएको थियो ।
२०८१ भदौ १० गते मध्यपुर थिमि–२, दिव्यश्वरी प्लानिङस्थित तावा रेष्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले चक्रे मिलनलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
यही साउन १५ गते जन्मदिन मनाइरहँदा काठमाण्डौँको महाराजगञ्जस्थित साम्बाला होटलबाट मध्यराती चक्रे मिलन पक्राउ परेका थिए । प्रहरीले उनलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा प्रहरी वृत्त थिमिमार्फत सरकारी वकिलको कार्यालय भक्तपुरमा साउन २३ गते बयान गराएको थियो ।
आजै बकपत्र र थुनछेक बहस सकिएपछि अदालतले धरौटीमा छाड्न आदेश दिएको राससमा उल्लेख छ ।