अष्ट्रेलियामा विद्युतीय सवारी साधनको बिक्री ६० प्रतिशतले वृद्धि, नयाँ कीर्तिमान

  ७ घण्टा अगाडि

क्यानबेरा, २९ साउन : अष्ट्रेलियामा सन् २०२५ को दोस्रो त्रैमासिकमा विद्युतीय सवारी साधनको बिक्री ६० प्रतिशतभन्दा बढीले वृद्धि भई अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ, जुन तथ्यांक बिहीबार सार्वजनिक गरिएको छ ।

अष्ट्रेलियाको सबैभन्दा ठूलो मोटर यातायात सम्बन्धी गैरसरकारी संस्थाले प्रकाशित गरेको प्रतिवेदन अनुसार, अप्रिलदेखि जुन महिनाको अवधिमा अष्ट्रेलियालीहरूले २९ हजार २४४ नयाँ ब्याट्री चालित सवारी साधन किनेका छन् । यो सङ्ख्या अघिल्लो त्रैमासिकमा बिक्री भएका १७ हजार ९०१ सवारी साधनको तुलनामा ६३.३ प्रतिशतले बढी हो ।

यसले अघिल्लो कीर्तिमान-सन् २०२३ को दोस्रो त्रैमासिकमा भएको २५ हजार ६९६ को बिक्रीलाई पनि पार गरेको छ । संस्थाले जनाएअनुसार, सन् २०२५ को दोस्रो त्रैमासिकमा नयाँ हल्का सवारी साधनमा विद्युतीय सवारी साधनको बजार हिस्सा ९.३ प्रतिशत पुगेको छ, जुन पहिलो त्रैमासिकको ६.२ प्रतिशतबाट उल्लेखनीय वृद्धि हो र नयाँ कीर्तिमान पनि हो ।

यसैबिच, इन्धनबाट चल्ने सवारी साधनको बजार हिस्सा लगातार घट्दै गएको छ । सन् २०२३ को पहिलो त्रैमासिकमा ८६.४ प्रतिशत रहेको हिस्सा सन् २०२५ को दोस्रो त्रैमासिकमा घटेर ७२.०३ प्रतिशतमा झरेको छ । संकर प्रविधियुक्त सवारी साधनको बजार हिस्सा दोस्रो त्रैमासिकमा १४.८ प्रतिशत रह्यो, जुन सन् २०२४ को पहिलो त्रैमासिकयता सबैभन्दा न्यून हो ।

मझौला आकारका सवारी साधन मात्र त्यस्ता वर्ग थिए, जहाँ विद्युतीय र संकर दुवै प्रकारका सवारी साधनको बजार हिस्सा इन्धनबाट चल्ने सवारी साधन भन्दा बढी देखिएको हो । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया