साझाखबर संवाददाता, बेइजिङ । चीनमा अध्ययनरत एकजना नेपाली विद्यार्थीको आगलागीका कारण बिचल्ली भएको छ । चीनको वुहानस्थित ह्वाचोङ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा बिद्यावारिधी गर्दै गरेका मन्दीप पोखरेल बसेको अपार्टमेन्टमा अगष्ट ८ तारिख विद्युत सर्ट भई आगलागी हुँदा ठूलो क्षति भएको हो ।
राती सुतिरहेको समयमा विद्युतीय गडबडीका कारण आगो लाग्दा राहदानी, डिग्री प्रमाणपत्र, अमेरिकी डलरमा नगद, कम्प्युटर, अन्य इलेक्ट्रोनिक्स सामग्री र व्यक्तिगत सरसामानहरू सबै जलेर खरानी भएका थिए । यद्यपि पोखरेल भने ज्यान बचाएर कोठाबाट बाहिरिन सफल भए ।
आगलागीका कारण भएको क्षति तिर्नका लागि उनले लगभग ७० प्रतिशत अर्थात् लगभग ५० हजार युआन जुटाउनुपर्ने भएकाले बीमा वा बचत अभावका बाबजुद बोझ उठाउनुपर्ने भएको छ। परदेशमा अध्ययनरत एकजना विद्यार्थीका लागि क्षतिपूर्ति जुटाउन गाह्रो हुने भएकाले उनले सहयोगको याचना गरेका छन् ।
यसैबीच नेपाली विद्यार्थी संगठन चीनले पनि पीडित विद्यार्थीलाई आर्थिक सहयोगका लागि अपील गर्दै विज्ञप्ति जारी गरेको छ ।
