काठमाडौँ, २७ साउन : प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जलविद्युत् सञ्चालकहरू मालामाल हुने तर परियोजना सञ्चालन भएका जिल्लाका जनता गरीब भइरहने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
संसद्को आजको आकश्मिक समयमा (माओवादी केन्द्र)की सांसद माझीले लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको सुपर न्यादीमा पहिरोमा परी १ जनाको मृत्यु तथा ३ जना घाइते भएकोमा दुःख व्यक्त गर्दै घाइतेको उपचार र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराउनुभयो । उहाँले लमजुङ जिल्लामा अहिले ३०० मेगावाटभन्दा बढि बिजुली उत्पादन गरेर जलविद्युतको हब बन्दैगर्दा त्यहाँका युवाहरू भने उचित रोजगारी नपाएर विदेशमा भौतारिनुपर्ने अवस्था भएको उल्लेख गर्दै युवाहरूलाई रोजगारीको लागि सरकारले र सरोकारवालाले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “जलविद्युत् परियोजना सञ्चालहरू मालामाल हुने तर त्यहाँका जनता गरीवीको मारमा बसिरहनुपर्ने अवस्थाको अन्त्य कसरी हुने हो ? सरकारले जवाफ दिनुपर्छ ।”