भक्तपुर, २४ साउन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक रहेको बताउनुभएको छ । आज बालकोटमा आयोजित स्व श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा कांग्रेसले आत्मविश्वास हराएको पार्टीले देश सम्हाल्न नसक्ने भन्दै सबैले आत्मसमीक्षासहित पार्टी निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
महामन्त्री थापाले देशका समस्याको समाधान दिनुपर्ने पार्टीमै आत्मविश्वास कमजोर भएको जस्तो देखिएको उल्लेख गर्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताउनुभयो । “नेपाली समाजमा असन्तुष्टि छन्, नागरिक रिसाएको अवस्था छ । यसबाट देशलाई बाहिर निकाल्ने र सम्हाल्ने काम कांग्रेसको काँधमा छ । देश बनाउनसक्ने कांग्रेसले हो भन्ने सन्देश दिनेगरी काम गर्न आवश्यक छ”, उहाँले भन्नुभयो,“पार्टीभित्र चुनाव हारिन्छ कि भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको छ । त्यो डर त्यागेर कांग्रेसलाई बलियो बनाउन अग्रज नेताको मार्गनिर्देशन पालन गर्न लागौँ ।”
महामन्त्री थापाले युवाहरूको असन्तुष्टिलाई वास्तविक भावनाका रूपमा बुझ्नुपर्ने र त्यसलाई कदर गर्दै देशभित्र अवसर सिर्जना गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले आगामी दिनमा नेपाली कांग्रेसले कृत्रिम बौद्धिकता (एआई) सँग पनि राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने भन्दै ‘एआई राजनीति’ का लागि पनि तयार रहनुपर्ने धारणा राख्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रमा कोइराला पौडेल, बागमती प्रदेशका पूर्वमन्त्रीद्वय सुरजचन्द्र लामिछाने र कृष्णलाल भँडेल, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, वरिष्ठ पत्रकार कविर राणालगायतले स्व कार्कीको योगदानबारे चर्चा गर्नुभयो ।
स्मृति सभासँगै आयोजित रक्तदान कार्यक्रम ७२ जनाले रक्तदान गरेको र विद्यार्थीलाई एक सय वटा स्कुल ब्याग, स्टेसनरी र खेलकुल सामग्री हस्तान्तरण गरिएको स्व श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभएको राससमा उल्लेख छ ।