काठमाडौँ, २१ साउन : कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणसम्बन्धी आयोजनाका काम निर्धारित समयसीमभित्र सक्नेगरी काम गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ ।
स्थानीय पूर्वाधार तथा विकास विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई आज यहाँ सम्बोधन गर्दै उहाँले विभागलाई विकास निर्माणका आयोजनाहरू समयमा सम्पन्न गर्नेगरी काम गर्न आह्वान गर्नुभयो । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको स्थानीय पूर्वाधार विकास विभागले सडक पूर्वाधार, झोलुङ्गे पुल, सडक पुल, स्थानीय तहको प्रशासकीय भवन र साना सिँचाइ आयोजनाको काम गरिररहेको छ ।
“विकास निर्माण र पूर्वाधारसँग सम्बन्धित काम समयमा सकियोस् भन्ने जनताको चाहना हुन्छ । उहाँहरूको चाहना पूरा गर्नेगरी काम गर्न लाग्नुस् । त्यसका लागि मनत्रालयबाट गर्नुपर्ने सहयोग प्राप्त हुनेछ”, उहाँले भन्नुभयो । गत वर्ष विभागको समग्र प्रगति ६५ प्रतिशत मात्र देखिएकामा असन्तुष्टि जनाउँदै उहाँले विगतका कमजोरी पहिचान गरी समाधान गर्दै आगामी वर्षमा उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यवाहक प्रधानमन्त्री सिंहले अघिल्लो वर्षको समीक्षाबाट सिक्दै आगामी वर्षका योजनाहरू प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै समयमा काम सुरु गर्न पनि निर्देशन दिनुभयो । स्थानीय पूर्वाधार विकास विभागले चालु वर्षमा गर्ने योजनाहरू समयमा र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “चालु आव २०८२/८३ मा गर्नुपर्ने योजनाहरूलाई कसरी प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । पूर्वाधार तथा विकास निर्माणदेखि विकट स्थानमा निर्माण भइरहेका झोलुङ्गे पुलहरूसमेत तोकिएको समयमा सम्पन्न हुनुपर्छ ।”
मन्त्रालयका सचिव गोपाल सिग्देलले कतिपय आयोजनाहरू ‘डुप्लिकेसन’ भएका भन्दै आयोजना क्षेत्र प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरी सुनिश्चित गरेर मात्रै काम अगाडि बढाउन विभागलाई निर्देशन दिनुभयो । विभागका महानिर्देशन महेशचन्द्र न्यौपानेले गत आव २०८१/८२ को वार्षिक प्रगति समीक्षासम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको राससले जनाएको छ ।