सरकार कर बक्यौता असुली अभियानमा जुट्ने

  ४ घण्टा अगाडि

काठमाडौँ, २० साउन : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य हासिल गर्न सरकार विशेष कार्ययोजनासहित कर बक्यौता असुलीको अभियानमा जुट्ने बताउनुभएको छ । प्रतिनिधिसभामा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले राजस्व परिचालनमा तीव्रता ल्याउन र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) नियन्त्रण गर्न व्यापक नीति तथा कार्यक्रम अघि सारिएको जानकारी दिनुभयो ।

सांसद सूर्यप्रसाद गौतमले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री पौडेलले गत आर्थिक वर्ष २०८१/८२ मा कुल रू ११ खर्ब ९६ अर्ब राजस्व सङ्कलन भएको उल्लेख गर्दै चालु आवमा अझ बढी राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताउनुभयो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षको राजस्व सङ्कलन ११.३३ प्रतिशतले वृद्धि भइरहेको उहाँको भनाइ थियो ।

“राजस्व लक्ष्य हासिल गर्न आन्तरिक राजस्व परिचालन रणनीति कार्यान्वयनमा ल्याइएको छ । मन्त्रालयबाट नियमित राजस्व सङ्कलनको समीक्षा भइरहेको छ र कर बक्यौता असुलीका लागि स्पष्ट कार्ययोजना सहितको अभियान सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो ।

राजस्व चुहावट नियन्त्रणका लागि सरकारले चुहावट हुने क्षेत्रको पहिचान गर्ने, अन्तरनिकाय समन्वय र सूचना आदान–प्रदान गर्ने, संयुक्त गस्तीलाई प्रभावकारी बनाउने, स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण समितिको बैठक सञ्चालन गर्नेलगायतका काम गरिरहेको अर्थमन्त्री पौडेलले बताउनुभयो । त्यसैगरी, चालु आर्थिक वर्षको बजेटमार्फत् करका दरको परिमार्जन, करको दायरा विस्तार, कर परिपालना प्रवर्द्धन, डिजिटल कर प्रणालीको प्रभावकारी परिचालनलगायतका सुधारात्मक उपाय लागू गरिएको उहाँको भनाइ छ । समग्र राजस्व प्रशासनको दक्षता र क्षमता अभिवृद्धिमा मन्त्रालय पूर्णप्रतिबद्ध रहेको पनि अर्थमन्त्री पौडेलले संसदलाई जानकारी दिनकारी दिनुभयो ।

आजको बैठकमा अर्का सांसद प्रेम सुवालले नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्क फोर्स – एफएटीएफ)को निगरानी सूची (ग्रे लिस्ट)मा परेको विषयमा सरकारको दृष्टिकोण के छ भनी प्रश्न गर्नुभएको थियो । सो प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गरेर १९ वटा कानुन परिमार्जन गरिएको छ । साथै, नयाँ नियमावली तथा निर्देशन जारी गरी कार्यान्वयनमा ल्याइएका छन् ।” सम्पत्ति शुद्धीकरण नियन्त्रण सम्बन्धमा सरकारले हालसम्म सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ जारी र लागू गरेको, रणनीति तथा कार्ययोजना २०८१/८२ देखि २०८५/८६) कार्यान्वयन, ग्रे लिस्टबाट छिटो बाहिरिन ‘शीघ्र सुधारात्मक कार्ययोजना, २०८२ स्वीकृत र लागूलगायतका कानुनी सुधार गरिएको बताउनुभयो ।

त्यसैगरी बहुमूल्य धातु र वस्तु कारोबारी, क्यासिनो व्यवसायी, घरजग्गा कारोबार गर्ने संस्थाहरूजस्ता सूचक संस्थालाई विभिन्न निर्देशन गरिएको उहाँको भनाइ छ । चारवटा समन्वय संयन्त्र (नियामक, अनुसन्धान समन्वय, आतङ्कवाद प्रतिरोध, कार्यान्वयन सहजीकरण) गठन भएको पनि अर्थमन्त्री पौडेले बताउनुभयो । सरकारले एफएटिएफको मापदण्ड पुरा गर्न गम्भीरता देखाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामी ग्रे लिस्टबाट बाहिरिन मात्र होइन, भविष्यमा फेरि यस्तो सूचीमा नपर्ने सुनिश्चितता गर्न प्रतिबद्ध छौँ ।

तपाईको प्रतिक्रिया