आधारभूत अस्पतालमै ‘डायलाइसिस’ सेवा

  ८ घण्टा अगाडि

गलकोट (बागलुङ), २० साउन : यहाँको आधारभूत अस्पतालमा डायलाइसिस सेवा दिने तयारी थालिएको छ । यसका लागि सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत बडिगाड गाउँपालिकालाई रु एक करोड एक लाख ४४ हजार ८२० बराबरको पाँचवटा डायलाइसिस उपकरण प्राप्त भएको छ ।

यही साउन १ गतेबाट बडिगाड गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पतालले सेवा सुरुआत गरेको थियो । जिल्ला अस्पतालबाट दिइरहेको डायलाइसिस सेवा अब गाउँपालिकाबाट दिने तयारीका साथ उपकरण अस्पतालमा आएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको आधारभूत अस्पतालमा डायलाइसिस सेवा सम्भवतः देशभरमै पहिलो भएको बताउनुभयो । बागलुङको बडिगाड गाउँपालिकाले पश्चिम बागलुङका मिर्गौलाको बिरामीका लागि डायलाइसिस सेवा सुरु गर्न उपकरण भित्र्याएको हो । बडिगाड –५ ग्वालीचौरमा हालै सम्पन्न रु १८ करोड लागतको भवनमा १५ शय्याको अस्पताल निर्माण भएको थियो ।

गाउँपालिकाले आगामी कात्तिकभित्र डायलाइसिस सेवा दिनेगरी स्वास्थ्यकर्मीलाई तालिम दिने तयारीमा जुटेको अध्यक्ष थापा अधिकारीले जानकारी दिनुभयो । मध्यपहाडी पुष्पलाल लोकमार्गको नजिकै रहेको अस्पतालले राजर्मागमा हुने दुर्घटनाका बिरामीलाई समेत सहजता प्रदान गर्ने छ ।

धवलागिरि अस्पतालमा मात्र सो सुविधा रहेकामा बडिगाडमा पनि डायलाइसिस सेवा सञ्चालनसम्बन्धी एक वर्षअघि बडिगाड गाउँपालिका र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच सम्झौता भएअनुसार अहिले उपकरण प्राप्त भएको हो । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीबीच डायलाइसिस सेवा दिने विषयमा सम्झौता भएअनुसार उपकरण गाउँपालिकामा आएको हो ।

उपकरण आएपछि जनशक्तिको विषयमा थप तयारी भइरहेको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जनशक्ति पठाउने विषयमा अध्ययन गरिने बताएको अध्यक्ष थापाले जानकारी दिनुभयो । पालिकाका एक मेडिकल अधिकृत र तीन स्टाफ नर्सलाई तालिमका लागि पठाउने तयारी छ । बडिगाडको आधारभूत अस्पताललाई स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुका रूपमा समेत सूचीकृत गरेको छ । गण्डकी प्रदेशबाट थप एक मेडिकल अधिकृत तथा सङ्घीय सरकारबाट दुई चिकित्सक र तीन स्टाफ नर्ससहितको उपकण दिने देशभरको ४८ सूचीमा समेत यस गाउँपालिकाको आधारभूत अस्पताल परेको छ ।

यसबाट बागलुङ पश्चिमका साथै गुल्मी, रुकुम र रोल्पाका जनताले सहज सेवा पाउने बडिगाड गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो । बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उपचार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया