सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत

  २ घण्टा अगाडि

काठमाडौँ, २० साउनः नेपाली खाना प्रवर्द्धन अभियानले भोजनलिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सोमबार सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरेको छ । कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कोदोको परिकारको प्रदर्शनी गरिएको हो ।

नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको भोजनलिपि स्वादको पाँचौँ संस्करणमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का उपस्थित भएर कोदोका परिकारको स्वाद लिनुभयो । परिकारको स्वाद लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कोदो उत्पादन बढाउन सरकारले किसानका लागि प्रोत्साहनमूलक योजना ल्याउने बताउनुभयो ।

कोदोको महत्त्व आमनागरिकसम्म पु¥याउन तथा उत्पादन बढाउन सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । “यहाँ कोदोको परिकालाई आधुनिकीकरण गरेर बनाइएको छ, हेर्न पनि उत्कृष्ट छ । कोदोका परिकार स्वादिलो हुनुका साथै स्वास्थ्यवर्द्धक पनि हुने भएकाले यसको बढी महत्त्व आमनागरिकसम्म पु¥याउन जरुरी छ । यसको उत्पादन प्रक्रिया झन्झटिलो भएकाले किसान कोदोखेतीमा कम आकर्षित भएका छन् । आधुनिक उपकरणको प्रयोगमार्फत कृषकलाई आकर्षण गर्नसके यसको उपयोगिता र महत्त्व अझ बढ्नसक्छ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो ।

कोदो परिकारको विषय मात्र नभई संस्कृति, पहिचान र सम्भावनाको अन्न भएको उहाँले बताउनुभयो । अन्तरराष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रदर्शनीमा कोदोबाट बनेका ढिंडो, सेलरोटी, खीर, मःमः, मालपुवा, मफिन, कुकिजलगायत परिकार राखिएको थियो ।

मोही र पान लड्डु कार्यक्रमका विशेष परिकार बनाइएको थियो । राष्ट्रिय कोदो दिवसका सन्दर्भमा कोदो विशेष परिकार बनाइएको हो । वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले स्वास्थ्यवर्द्धक कोदोको उत्पादन वृद्धि गर्दै यसको प्रवर्द्धन र व्यावसायिकीकरण गरी कृषकलाई खेतीतर्फ आकर्षित गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले विगतमा कोदोको परिकार हेपिएको खाना भए पनि सहर र आधुनिक जीवनशैलीमा यो स्वास्थ्यका लागि महत्त्वपूर्ण र लोकप्रिय बनिरहेको बताउनुभयो । सेफ कँडेलले लोप हँुदै गइरहेको कोदोको उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

नेपाली कृषकद्वारा उत्पादित कृषिउपजको उपयोग गर्दै स्वस्थ्य र सचेतना अभिवृद्धिका लागि कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो । राष्ट्रिय कोदो दिवसका अवसरमा कोदोका परिकारलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताउनुभयो ।

सरकारले यस वर्षदेखि भदौ १६ लाई राष्ट्रिय कोदो दिवसका रुपमा मनाउन सुरु गरेको सन्दर्भमा कोदोका परिकारलाई प्रवद्र्धन गरिएको अभियानले जनाएको छ । नेपाली खाना प्रवर्द्धन अभियान र भोजनलिपि स्वादको संयुक्त आयोजनामा सिंहदरबारको नारायणी चमेना गृहमा कोदोको परिकार प्रदर्शनी गरिएको हो ।

कोदो प्रवर्द्धन अभियानमा कोदाली भेन्चर्स प्रालि र नवप्रभात डेरीले पनि सहयोगी भूमिका निर्वाह गरेका हुन् । कोदाली भेन्चर्सका प्रमुख लक्ष्मी पोखरेलले नेपाली किसानहरूले परम्परागत रूपमा खेती गर्ने कोदो, फापर, चिनो, कागुनो, मुङ दाल, भटमासजलगायत अन्नहरूमा आधारित उत्पादनको विकासमा सहकार्य गर्दै आइएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया