धरान, १७ साउन : धरान खेलकुद मञ्चद्वारा आज यहाँ आयोजित धरान स्पोर्टस् अवार्ड–२०८२ मा कराते खेलाडी शाहिल राई उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।
यस्तै महिलातर्फ करातेकै वर्षा राईले उत्कृष्ट महिला वर्ष खेलाडीको उपाधि प्राप्त गरिन् । दुवैले जनही रु ३० हजार पुरस्कार प्राप्त गरे । उत्कृष्ट वर्ष प्रशिक्षकबाट करातेकै किरण लामा पुरस्कृत भए । उनले रु २० हजार पुरस्कार प्राप्त गरेका छन् ।
पन्ध्र वर्षमुनिका खेलाडीलाई प्रदान गरिने ‘द राइजिङ प्लेयर’ अवार्ड ब्याडमिन्टन खेलाडी सुलेखाकुमारी ठाकुरले प्राप्त गरिन् । मोस्ट भ्यालुएवल प्लेयरको पुरस्कार फुटबल खेलाडी मनोज राईले प्राप्त गरे । पारा ओलम्पिकमा पदक विजेता धरानका विवेक राईलाई ‘विक्रम राई स्मृति अवार्ड’ प्रदान गरियो । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ ।
यसैगरी ‘लेजेन्ड अफ द इयर’ को उपाधि कराते प्रशिक्षक दिपेश शाक्यलाई प्रदान गरियो । ‘उत्कृष्ट खेल पत्रकार’को अवार्ड ब्लाष्ट टाइम्सका भोजराज श्रेष्ठलाई प्रदान गरियो । दुवैलाई जनही रु १५ हजार प्रदान गरिएको धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले जानकारी दिए ।