कांग्रेसमा युवालाई आबद्ध गराए लोकतन्त्र बलियो हुने

  साउन १८, २०८२

विराटनगर, १७ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसमा युवाहरुलाई आबद्ध गराए लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस विराटनगर–४ वडा समितिले आज आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा उहाँले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउन सुझाव दिनुभयो । प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका नेता डा कोइरालाले ‘लोकतन्त्रको पर्यायवाची नै कांगे्रस भएकाले लोकतन्त्र कमजोर भएमा लोकतन्त्र र देश कमजोर हुने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिकाबारे युवामा जनचेतना जागृत गराउनु आजको आवश्यकता हो ।”, नेता डा कोइरालाले जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने बताउँदै अन्य पार्टीहरूसँगको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक दलको नेता भएपछि अन्य दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसित आफूले भेटघाट एवं छलफल गरेको बताउनुभयो ।

सो अवसरमा ७२ वर्ष उमेर पार गरेका ज्येष्ठ क्रियाशील सदस्यहरु सुरेश तिम्सिना, सीयाराम मण्डल राजवंशी, तेतरी राजवंशी, कृष्णमोहन कार्की, मणिराज निरौला, दुखाराम गच्छदार, नखबहादुर खड्का, साजीलाल माझी, थिरबहादुर नेपाली र हेमनारायण चौधरीलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया