कोदोको माग बढ्दै उत्पादन घट्दै

  १४ घण्टा अगाडि

डुम्रे (तनहुँ), १६ साउन : यहाँको व्यास नगरपालिका-१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे) का अध्यक्ष सरस्वती थापा मगर अहिले हरेक होमस्टेमा कोदोको परिकार पाइने बताउनुहुन्छ ।

मगर भन्नुहुन्छ, “कोदोको परिकारबिना होमस्टे चल्न मुस्किल हुने अवस्था छ । कोदो स्वास्थ्यबर्द्धक छ ।” खेती गर्ने किसानको अभावले उत्पादन घट्दै गएको छ भने स्वास्थ्यका दृष्टिकोणले माग बढ्दै गएको उहाँ बताउनुहुन्छ । पछिल्लो समय होटल, रेष्टुरेण्ट तथा घरवास ‘होमस्टे’ मा कोदोका परिकारको माग बढ्दै गएपछि खेतीतर्फ किसानलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “गाउँमा जमिन बाँझो बस्ने क्रम बढेको छ । स्वास्थ्यबर्द्धक कोदो उत्पादनमा कसैको चासो पुगेको पाइँदैन । त्यसमाथि बाँदरले मकैसँगै कोदो पनि खाने हुँदा किसान मर्कामा परेका छन् ।” पहिले बाँदरले खाएर बाँकी रहेका मानिसले खानुपर्ने अवस्था रहेको थापा बताउनुहुन्छ ।

“हामीले यति बहुगुणी कोदोका परिकारलाई उपयोग गर्न जानेनौँ । तर, अहिले कोदोको परिकारबिना होमस्टे चलाउन सकस पर्छ”, उहाँ भन्नुहुन्छ, “होमस्टे सञ्चालन गरेका ठाउँमा मात्रै उत्पादन भएका कोदोले अपुग हुन्छ । कतिपय समयमा बाहिरबाट खरिद गर्नुपर्ने अवस्था आउँछ । जसले गर्दा उत्पादन भएका ठाउँबाट ल्याउन सक्छौँ । उत्पादनलाई प्रोत्साहन गरौँ ।”

बजारीकरणको अभावले विगतमा कोदोखेती घटेको हो । यसको उपयोगिताका बारेमा प्रचारप्रसार गर्दै उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइन्छन् । स्वास्थ्यका लागि कोदो उपयोगी हुने भएकाले माग बढ्दै जाँदा उत्पादन पनि बढाउनुपर्ने केन्द्रको भनाइ छ । परम्परागत तथा स्वास्थ्यबर्द्धक बालीका रूपमा रहेको कोदोको माग बढ्दै जाँदा उत्पादन घट्दै गएको यहाँका होमस्टे सञ्चालक बताउँछन् ।

व्यास नगरपालिकाद्वारा प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा आज दमौलीमा आयोजित कार्यक्रममा नगरप्रमुख बैकुण्ठ न्यौपानेले कोदो दिवसमार्फत कोदोखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिकात्मक कार्यक्रम गरिएको बताउनुभयो । स्वास्थ्यबर्द्धक कोदोखेतीलाई रैथाने खेती प्रवर्द्धन कार्यक्रममार्फत विस्तारका लागि किसानलाई प्रोत्साहन गरिने उहाँले उल्लेख गर्नुभयो ।

नगरप्रमुख न्यौपानेले भन्नुभयो, “कोदोखेतीको प्रवर्द्धन गर्नेछौँ । यसको उपयोग गरेमा नसर्ने रोगबाट सुरक्षित हुन सकिन्छ ।” बाँझिदै गएको जमिनलाई उपयोग गर्ने वातावरणमा नगर जुट्ने जनाउँदै उहाँले कोदोको ‘ब्राण्डिङ’ गरी यसबाट बनेका वस्तुको उपयोगमा जोड दिने योजनाअनुसार का भइरहेको बताउनुभयो ।

उपप्रमुख इन्दिरा दरैले कोदोको उपयोगिताको प्रचार गर्दै यसको खेतीलाई विस्तार गर्दै जाने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाका बाँझिदै गएका जमिनलाई उपयोगमा ल्याएर कोदोखेतीको पकेट क्षेत्रमा विकास गर्नेछौँ । गर्भवती, आमा–शिशुलाई आवश्यक पर्ने प्रोटिन, आइरन र क्याल्सियमको मात्रा कोदोको परिकारमार्फत पूर्ति गर्न सकिन्छ ।”

न्यून आयस्रोत भएका गर्भवतीलाई पोषण पूर्तिका लागि नगरपालिकाले पोषणभत्ता वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो । “पोषणयुक्त आहारको अभावमा बालबालिका कुपोषित जन्मन सक्छन् । यसका सीमित मात्रामा खान सुझावसहित पोषणभत्ताको व्यवस्था गरिएको हो”, उपप्रमुख दरैले भन्नुभयो ।

बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका किसान अहिले पुनः कोदोखेतीतर्फ जोडिन थालेका कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिनुभयो ।

“पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरवाससँगै सहर बजारका ठूला–ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै जान थालेका छन् भने उत्पादन घट्ने क्रममा छ । उत्पादन वृद्धिको आवश्यकता अनुरुप कोदोखेती गर्नतर्फ किसानलाई आकर्षण गर्न थालेका छौँ”, उहाँले भन्नुभयो ।

केन्द्रले परम्परागत बाली उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा छ हजार ५० हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा नौ हजार ३१७ मेट्रिकटन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/८१ मा छ हजार सात सय ३१ हेक्टर क्षेत्रफलमा सात हजार ७८० मेट्रिकटन कोदोजन्य खाद्यान्न उत्पादन भएको थियो ।

अन्य जिल्लाको तुलनामा क्षेत्रफल घटेको भए पनि उत्पादन बढ्दै गएको सूचना अधिकारी परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ रित्तिदै जाँदा खेतीयोग्य जमिन बाँझिदै गएका छन् । खेती नगरी उत्पादन बढाउन सकिँदैन । तसर्थ उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम गर्दै आएका छौँ । गाउँमा भन्दा बढी सहरका मानिसले अहिले चामलभन्दा कोदोको परिकार खान खोज्ने प्रचलन बढेको छ ।”

आव २०७९/८० मा छ हजार एक सय पाँच हेक्टर क्षेत्रफलमा सात हजार २१ मेट्रिकटन, आव २०७८/७९ मा छ हजार सात सय २९ हेक्टरमा सात हजार ७०० सय मेट्रिकटन र आव २०७७/७८ मा छ हजार ७२९ हेक्टर क्षेत्रफलमा छ हजार ७०० मेट्रिकटन कोदो उत्पादन भएको केन्द्रले जनाएको छ ।

आव २०७६/७७ मा छ हजार ६५६ हेक्टर क्षेत्रफलमा छ हजार ५७८ मेट्रिकटन तथा आव २०७५/७६ मा छ हजार ५५८ हेक्टर क्षेत्रफलमा पाँच हजार ९०५ मेट्रिकटन कोदो उत्पादन भएको थियो । परम्परागत जातको कोदोको माग बढेपछि केही किसान व्यावसायिक उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको केन्द्रले जनाएको छ । तीमध्ये ऋषिङ र घिरिङ गाउँपालिकामा बढी कोदो उत्पादन तथा खेती हुने गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका अनुसार जिल्लामा दूधे जातको चिनो, कात्तिके, ठूलो मुड्के, डुडे, सानो मुड्के, जाँते, छत्रे जातको कोदो, कागुनो (कैनो) लगायत कोदोजन्य पौष्टिक आहारयुक्त कोदो पाइन्छ । कोदोको ढिँडोसँगै, रोटी, सेलरोटी, खोलेलगायत परिकार रुचाउनेको सङ्ख्या बढेसँगै गाउँबाट कोदोको पीठो माग बढ्दै गएको केन्द्रले जनाएको छ ।

गर्भवती, मधुमेह र ग्याष्ट्रिक रोगवाट पीडितले कोदोको परिकार बढी मात्रामा खाने गरेका छन् । गर्भवती तथा शिशुको पौष्टिक आहारमा कोदोजन्य खाद्यन्नको अधिक उपयोग हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले बताउनुभयो । उहाँले भन्नुभयो, “नसर्ने रोगका बिरामीले कोदोजन्य खाद्य उपयोग गरेको अवस्थामा ६० प्रतिशतले मृत्युदर घट्छ ।”

अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन प्रयोग गर्दै आएका छन् । मदिरालाई ब्राण्डिङ गरी बजारमा ल्याउने क्रममा बढ्दै गएको छ । कोदो उत्पादनका लागि प्रोत्साहनमूलक कार्यक्रम थालेसँगै जिल्लामा खेतीको क्षेत्रफल बढ्ने गएको केन्द्रले जनाएको छ । गण्डकी प्रदेशमा बाग्लुङ सबैभन्दा बढी कोदोजन्य खाद्यान्न उत्पादन हुने जिल्ला हो । (रासस)

तपाईको प्रतिक्रिया