गाजाको अवस्थाले हजारौँलाई भोकमरीको खतरा : डब्लुएचओ

  १६ घण्टा अगाडि

गाजा, १६ साउन : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणअनुसार गाजामा हजारौँको भोकमरीबाट मृत्यु हुने जोखिम रहेको चेतावनी दिएको छ ।  डब्लुएचओले गाजाले हाल अनिकालको सबैभन्दा गम्भीर अवस्थाको सामना गरिरहेको जनाएको छ ।  

शुक्रबार विज्ञप्ति जारी गर्दै सङ्गठनले गाजाका बासिन्दाहरू चरम खाद्यान्नको अभावबाट पीडित रहेको, कोही खाना नखाएर दिन बिताइरहेको र कैयौँ अङ्गभङ्ग तथा चरम कुपोषणको शिकार भई तत्काल आवश्यक उपचारको अभावमा मृत्युको जोखिममा रहेको जनाएको छ । गाजाको स्वास्थ्य सेवा प्रणाली अब चिकित्सा आपूर्ति र इन्धनको गम्भीर अभावका कारण आवज्श्यक सेवा प्रवाह गर्न सक्षम नभएकाले बिरामी र स्वास्थ्य सेवाकर्मी दुवैको पीडा बढाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कुपोषणबाट निको हुन महिनौंको विशेष चिकित्सा हेरचाह र उपचारात्मक आहार चाहिने उल्लेख गर्दै सङ्गठनले केही प्रभावहरू आजीवन हुन सक्ने र वृद्धि तथा दीर्घकालीन स्वास्थ्य जोखिम कायम रहने जनाएको छ । डब्ल्यूएचओले सबै सम्भावित मार्गमार्फत गाजामा मानवीय सहायता, खाना र औषधिको तत्काल र निर्बाध प्रवेशका लागि आह्वान गरेको छ ।

सङ्गठनले इजरायललाई सहयोगको वितरणलाई सहज बनाई जीवन बचाउन र नागरिकहरूको पीडा अन्त्य गरी यसको सुरक्षित र द्रुत मार्ग सुनिश्चित गर्न आग्रह गर्दै युद्धविरामको आह्वान गरेकाे छ । (रासस/एएनआई)

तपाईको प्रतिक्रिया