रुसी हमलामा किएभमा ६ जनाको मृत्यु

  साउन १६, २०८२

किएभ, १५ साउन : किएभमा बिहीबार भएको रूसी आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । मस्कोले भने देशको पूर्वमा युक्रेनी सेनाको प्रमुख गढ रहेको सहर कब्जा गरेको दाबी गरेको छ । ड्रोन र क्षेप्यास्त्र आक्रमणले बिहानको समयमा किएभका कम्तीमा २७ स्थानमा प्रहार गरेको सहरका अधिकारीहरूले बताएका छन् ।

“अहिलेसम्म छ जनाको मृत्यु भएको पुष्टि भएको छ”, सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले टेलिग्राममा एक पोस्टमा भन्नुभयो, “हामीसँग ५२ जना घाइते भएका छन्, लगभग ३० जना अस्पतालमा छन् । यसमा नौ जना बालबालिका पनि छन् ।” “किएभमा यो एउटा डर लाग्दो बिहान हो । क्रूर रुसी आक्रमणहरूले सम्पूर्ण आवासीय भवनहरू ध्वस्त पारे र विद्यालय र अस्पतालहरूलाई क्षति पुर्याए । नागरिकहरू घाइते हुन्छन् र मारिन्छन् । अझै पनि भग्नावशेषमुनि मानिसहरू छन्”, युक्रेनी विदेशमन्त्री एन्ड्री सिबिगाले एक्समा लेख्नुभयो ।

युक्रेनमा रुसले गरेको पछिल्लो घातक आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोलाई युक्रेनमा आक्रमण रोक्न १० दिनको अल्टिमेटम जारी गरेको केही दिनपछि आएको हो । रुसले पूर्वमा युक्रेनी सेनाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण सैन्य केन्द्र रहेको चासिभ यार सहर कब्जा गरेको बताएको छ । बिहीबारको आक्रमण मङ्गलबार सैन्य प्रशिक्षण शिविरमा रुसी हमलालगत्तै भएको थियो ।

उक्त हमलामा कम्तीमा तीन युक्रेनी सैनिकको मृत्यु भएको थियो । बिहीबारको आक्रमणपछि युक्रेनका विदेशमन्त्रीले अन्तर्राष्ट्रिय समुदायलाई सन् २०२२ फेब्रुअरीमा सुरु भएको युद्ध अन्त्य गर्न मस्कोमाथि अत्यधिक दबाब दिन आह्वान गर्नुभयो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया