मुख्यमन्त्री लामाद्वारा मन्त्रिपरिषद् पुनर्गठन : लम्साल, गुरुङ र श्रेष्ठ मन्त्री नियुक्त

  २१ घण्टा अगाडि

मकवानपुर, १४ साउन : बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा नियुक्त पुनर्गठन, कार्यविभाजन गरिएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार तीन जनालाई मन्त्री पदमा नियुक्तिसँगै मन्त्रिपरिषद् पुनर्गठन, कार्यविभाजन गर्नुभएको हो ।

प्रदेश सभा सदस्य गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई बुधबार मन्त्रीमा नियुक्त हुनुभएको हो। नवनियुक्त तीनै जना कांग्रेसबाट मन्त्री बन्नुभएको हो। लम्साल धादिङका तथा गुरुङ र श्रेष्ठ चितवनका हुनुहुन्छ ।

लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय, गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने गरी नियुक्ति भएको बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

प्रदेश सरकार नवनियुक्त मन्त्रीको शपथ ग्रहण समारोह बिहीबार दिउँसो १ बजे रहेको उहाँले बताउनुभयो। लम्साल कांग्रेस संसदीय दलका प्रमुख सचेतक र गुरुङ सचेतक हुनुहुन्छ ।

मुख्यमन्त्री लामाले यसअघि चार जना मन्त्रीलाई पदमुक्त र मंगलबार एक मन्त्रीले राजीनामा दिएपछि पाँच वटा मन्त्रालय मन्त्रीबिहीन बनेको थियो ।

संस्कृति तथा पर्यटन मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै लिने गरी कार्यविभाजन गरिएको छ ।

१४ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा छ वटा मन्त्रालय नेकपा एमालेको भागमा परेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया