गाउँलेले बनाए पर्यटन पदमार्ग

  ७ घण्टा अगाडि

म्याग्दी (बेनी), साउन ६ गते । पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउन श्रमदान र चन्दा सहयोग सङ्कलन गरी स्थानीयले २७ किलोमिटर पदमार्ग बनाएका छन् । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ स्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खयरवाराही ताल पुग्न स्थानीयवासीले पदमार्ग निर्माण गरेका हुन् ।

खयरवाराही तालनजिक प्रसिद्ध धार्मिक स्थल खयरभारानी थान रहेको छ । खयरवाराही ताल समुद्री सतहदेखि करिब चार हजार सात सय मिटर उचाइमा रहेको छ । पदमार्ग निर्माण गरेपछि खयरभारानी दर्शन गर्न जाने भक्तजन र पदयात्रीलाई सहज भएको छ ।
पाउद्वार गाउँदेखि सुरु हुने पदमार्गले पर्यटकीय स्थल खोप्रालेक हुँदै अन्नपूर्ण हिमालको फेँदीमा रहेको खयरवाराही तालसम्म निर्माण गरिएको छ । पदमार्ग सुन्दर र आकर्षक छ ।

पदमार्गमा अहिलेसम्म एक करोड ७० लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ । आफन्तको सम्झना र स्मृतिमा गाउँलेले पदमार्ग, चौतारी र खानेपानीका धारा निर्माण गर्ने गरेका छन् । 


खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा, खयरखोला हुँदै खयरवाराही ताल जोड्ने पदमार्ग, चौतारी निर्माण र खानेपानीको सुविधा विस्तार गरिएको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संरक्षक राजु पुनले बताउनुभयो । उहाँका अनुसार पाउद्वार र छिमेकी गाउँका तथा भक्तजनले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्ग र चौतारी निर्माण गरेका छन् । 


यो अवधिमा पदमार्ग र चौतारी निर्माण गर्न ६७ जनाभन्दा बढीले सहयोग गरेको उहाँले बताउनुभयो । सत्र जना दाताको सहयोगमा पाउद्वार–लरेनी खण्डमा चार दशमलव पाँच किलोमिटर, २३ जनाको सहयोगमा लरेनी–खोप्रा खण्डमा ११ किलोमिटर र २७ जनाको सहयोगमा खोप्रा–खयर खण्डमा १२ किलोमिटर पदमार्ग निर्माण भएको उहाँले बताउनुभयो । 


पदमार्गमा पदयात्रा गर्दा हिमशृङ्खलाको सुन्दर दृश्य, पहाडी रमणीय भूगोल, वनजङ्गल र चराचुरुङ्गीको अवलोकन गर्न सकिन्छ । पाउद्वारदेखि खोप्रा हुँदै खयरवाराही ताल पुग्न दुई दिनसम्म पदयात्रा गर्नु पर्छ । पदमार्ग निर्माण भएपछि पर्यटकीय स्थल खोप्रा र खयरवाराही तालसम्मको पदयात्रा गर्न सहज भएको छ । स्थानीयको प्रयासबाट निर्माण भएको पदमार्ग उदाहरणीय भएको अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो । 

 
खयरवाराही तालमा जनैपूर्णिमा पर्वमा विशेष मेला लाग्ने गर्छ । खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ बली चढाउने प्रचलन छ । 

तपाईको प्रतिक्रिया