स्वर्गजस्तै सुन्दर गोसाइकुन्ड : कहिले हट्ला होटल व्यवसायीको सिन्डिकेट

  ५ घण्टा अगाडि

कृष्णा कुमारी रेग्मी

धार्मिक र पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्व बोकेको नेपालको रसुवा जिल्लामा रहेको गोसाइकुन्डमा जाने मानिसहरुको भिडभाड नै देखिन्छ यतिबेला । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण गोसाइकुन्ड पुगेर काठमाडौं फर्कन ४ देखि ५ दिनको समय लाग्ने गर्दछ । गोसाइकुन्ड ताल हेर्न मात्र होइन त्यहाँ पुग्दासम्म झरना, खोला, हरियो वनजंगल, विभिन्न प्रजातीका जडिबुटी, जंगली जनावर, विभिन्न प्रजातिका फूलहरुको सुगन्धले मनमोहक यात्रा असाध्यै रहरलाग्दो र आनन्दमय छ । तर गोसाइकुन्ड पुग्दासम्म बाटोमा भएका होटल व्यवसायीको सिन्डीकेटका कारण आफूखुशी होटलमा बास बस्न र खान नपाइने झन्झटिलो अवस्थाले भने स्वदेशी तथा विदेशी पर्यटकको मन खिन्न बनाउँछ ।

जेठको पहिलो साता रसुवाको धुन्चे बजारबाट शुरु भएको पैदल यात्रा घट्टेकुलो हुँदै सानो गोसाइकुन्डको सानो झरनाको सौन्दर्य रसपान गर्दै उकालो जंगल पुग्दा अलिअलि कठिन भएपनि विभिन्न प्रजातीका बनस्पति, चिरबिर चराचुरुङ्गीको आवाज, कोइलीको सुमधुर स्वरसँगै अगाडि बढ्दै जाँदाको आनन्द, शान्ति, रमणीयता शव्दमा बयान गर्नै नसक्ने थियो । प्रकृतिको बहुरुपी उपहारले बाटोभरि भेटिएका विभिन्न बनस्पति, जंगली जनावर, जडिवुटी, चराचुरुङ्गीको सुमधुर स्वरले यात्रालाई स्वर्गजस्तै सुन्दर बनाएको थियो । उकालो, ओरालोको यात्रामा थकित पर्यटकहरुलाई बास र गासका लागि बाटोमा झन्डै २ घण्टाको फरक दूरीमा रहेका होटलहरुमा भएको सेन्डिकेटले भने नमिठो अनुभव दिने गरेको छ । धुन्चेबाट झन्डै तिन चार घण्टामा पुगिने देउरालीमा भएका दुइवटा होटलबाट शुरु भएको सिन्डिकेट गोसाइकुन्ड तालसम्म पुग्दा यथावत रहेको पाइन्छ ।

हिन्दु पौराणिक कथा अनुसार भगवान शिवले आफ्नो भोक मेटाउन पानी खोज्न जाँदा त्रिशुल पृथ्वीमा खसालेपछि गोसाइकुन्ड बनेको थियो भन्ने मान्यता रहे पनि कतिपयले भगवान शिवले समुन्द्र मैथुन गर्दा विष घाँटीमा अड्किएर असहज भएपछि पानी खानका लागि त्रिशुल प्रहार गर्दा निस्केको पानीले गोसाइकुन्ड बनेको हो भन्ने दुइथरि मान्यता रहेको पाइन्छ । जे जसरी गोसाइकुन्ड ताल बनेपनि यसले स्वदेशी तथा विदेशी पर्यटकलाई पनि लोभ्याइरहनुका साथै धार्मिक महत्व पनि बोकेको छ । बाह्रै महिना हिउँले सेताम्मे हिमालको काखमा अवस्थित गोसाइकुन्ड तालमा रहेको पानी सफा र कन्चन रहेकाले त्यहाँ स्नान गर्दा विभिन्न रोगबाट मुक्त भइन्छ भन्ने धार्मिक जनविश्वास रहँदै आएको छ ।

बौद्ध धर्मावलम्वीहरुको मान्यताअनुसार यो ताल बौद्ध धर्म गुरु रिन्पोछेले तालको नजिकै ध्यान गर्थे र पानीले आफ्नो रोगको उपचार गर्ने भएकाले मन र शरिरमा शान्तिको प्रभाव पार्छ भन्ने विश्वासका साथ यसलाई आध्यात्मिक शक्तिका रुपमा लिने गरिन्छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जस्थित ४३८० मिटर उचाइमा रहेको गोसाइकुन्डमा बाह्रै महिना हिउँ पर्ने गरेकाले गर्मीको समयमा त्यहाँको यात्रा गर्दा अत्यन्तै आनन्दमय हुने गर्दछ । जसका कारण सेताम्मे हिमालको काखमा मनमोहक दृष्यले जो कोहीलाइ पनि लोभ्याउने गर्दछ । धार्मिक र प्राकृतिक महत्व बोकेको गोसाइकुन्ड पैदल यात्रा गर्ने यात्रीका लागि उत्तम स्थान पनि हो । यो क्षेत्र टे«किङका लागि अत्यन्तै उत्तम मानिन्छ ।

धुन्चे बजार पार गरेपछि शुरु भएको पैदल यात्रा घट्टेखोला (सानो गोसाइकुन्ड) देखि खेन्दी, देउराली, दिम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीविनादेखि गोसाइकुन्डसम्म पुग्दा बाटोमा भेटिने होटल, रेष्टुरेन्टमध्ये देउराली, लौरीवना र गोसाइकुन्डमा होटल व्यवसायीले लगाएको सिन्डिकेटका कारण त्यहाँ आएका स्वदेशी तथा विदेशी पर्यटक सास्ती खेपिरहेका छन् । २६७७ मिटरमा रहेको देउराली जहाँ धुन्चेबाट पैदल यात्रा गरेर तिनदेखि चार घन्टामा पुगिन्छ । त्यहाँ रहेका दुइवटा होटलले आफूखुशी पालैपालो गेष्ट राख्ने नियम बनाएर राज्यलाई समेत चुनौती दिइरहेका छन् ।

जनैपूर्णिमाको मेला र जेठ महिनामा लाग्ने दशहरा मेलामा बाहेक अरुबेला सिन्डिकेट लगाउने गरेका गोसाइकुन्ड जाँदा बाटोमा भेटिने होटलहरु प्रायः एउटै समुदायका मानिसहरु मिलेर सञ्चालन गरेकाले पनि उनीहरुले राम्रो सेवा दिएर व्यापार गर्नुपर्ने दायित्व निर्वाह गर्नुपर्नेमा उल्टै ग्राहकमाथि सिन्डिकेट लादेर कानूनलाइ समेत आफ्नो हातमा लिइरहेका छन् ।

सिन्डिकेटको शुरुवात स्थल देउरालीमा २ वटा होटल सञ्चालनमा रहेका छन् । देउरालीका २ वटा होटलमा कुनै पनि ग्राहकले आफूखुशी बस्न पाउँदैनन् । दुइवटा होटलले एक–एक दिन विराएर सेवा दिने गरेका उनीहरुले आफूखुशी होटलको बास र गास छान्न पाउने नागरिकको अधिकारलाई बन्चित गरिरहेका छन् । जतिसुकै ग्राहकको भिड भएपनि एक–एक दिनको पालो लगाएर खाना खुवाउने र सुताउने नियम बनाएका उनीहरुले होटलमा बास बस्न आएका मानिसलाई कोचाकोच हल, बरन्डामा सुत्न बाध्य बनाइरहेका छन् । त्यहाँबाट झन्डै एकदेखि दुइ घन्टामा पुगिने धिम्सामा भने दुइवटा होटल भएपनि त्यहाँको आतिथ्य सत्कार राम्रो भएको पाइएको छ ।

धिम्साबाट एक घन्टादेखि साढे एक घन्टासम्म पुगिने चन्दनबारीमा दश बाह्रवटा होटल भएकाले त्यहाँ बास बस्न अरु ठाउँको भन्दा सहज रहेको छ । चन्दनबारीमा भने एउटा होटलले एक दिनमा १० जनासम्म पाहुना राख्न पाउने नियम बनाएको रहेछ । चन्दनबारीबाट झन्डै दुईदेखि तिन घण्टासम्म पैदलयात्रामा पुगिने चोलाङपाटीमा रहेका दुइवटा होटलमा पनि सिन्डिकेटका कारण गोसाइकुन्ड जाने तिर्थालु स्वदेशी तथा विदेशी पर्यटकले सास्ती खेप्नु परिरहेको छ ।

छोलाङपाटीबाट दुइदेखि तिन घन्टाको दुरीमा रहेको लौरीविनामा त झनै सिन्डिकेट मात्र होइन होटलमा वास वस्न आएका पाहुनालाई गर्ने दुव्र्यवहारले खिन्न मन बनाउँछ । लौरीविनामा बास वसेर गोसाइकुन्ड पुगेर फर्कने पर्यटकहरुको एउटै सुझाव हुन्छ लौरी विनामा कोहि पनि नबस्नु होला त्यहाँ न खाना राम्रो छ न त ग्राहकप्रति गरिने व्यवहार राम्रो छ । तिनवटा होटल रहेको लौरीविनामा उनीहरुको मिलेमतोमा लादिएको सिन्डिकेट र ग्राहकलाई गर्ने रुखो बोली व्यवहारले सिंगो राज्यको कानूनलाई चुनौती दिइरहेको छ ।

बासस्थानको सिन्डिकेटमा मात्र होइन उनीहरुले प्रति व्यक्ति असुल्ने पैंसा पनि नियम विपरित छ । प्रति व्यक्ति रु १४५० रुपैयाँ एक रात बसेको र एक छाक खाएको असुल्ने लौरीविनामा एउटा कोठामा चार जना ग्राहकलाई कोचाकोच गरेर सुताउने गरेका छन् । तपाई एक्लै जानुभयो भने कि अरुसँग मिलेर कोठामा सुत्नुपर्छ कि त वुइगल र हलमा खचाखच कोचिएर सुत्नुपर्छ ।

लौरीविनामा एउटा कोठाको कति भनेर सोध्नुभयो भने उनीहरुले यहाँ कोठा बुकिङ गर्न पाइदैन प्रति व्यक्ति रु १४५० तिरेर बस्ने भए बस्नुस नत्र जानुस भनेर रुखो जवाफ दिने गरेका छन् । एक गिलास तातो पानी माग्नुभयो भने १०० तिर्नुपर्छ जवकि त्यहाँ खानेपानीको निशुल्क व्यवस्थापन सरकारले नै गरेको छ । एक गिलास कागती पानीको रु १५० मिनिरल वाटर त तपाईं किनेरै खान सक्नुहुन्न । पैंसाभन्दा पनि होटल व्यवसायीले काम गर्न राखेका मान्छेको हप्कीदप्की लौरीविनामा डरलाग्दो पाउनु हुन्छ ।

एउटा कोठाको कति भनेर सोध्नुभयो भने यहाँ कोठा यति र उति छैन प्रति व्यक्ति रु १४५० तिरेर बस्ने भए बस्नु नत्र जानु भन्दै उनीहरुले गर्ने रुखो व्यवहारले तपाईंको मन खिन्न हुन्छ । तर जाने कहाँ ? त्यहाँ रहेका तिनवटा होटलमै सिन्डिकेट छ । अर्को होटलमा जानुभयो भने पनि त्यहाँ ताल्चा लगाइएको हुन्छ किनकी आज खाने बस्ने सबै कुराको सिन्डिकेट एउटै होटललाई हुन्छ ।

चार जनाले एक रातमा एउटा कोठामा सुतेको र एक छाक खाएको १४५० का दरले रु ५८०० तिर्दा सादा खानाको रु ५५० प्रति व्यक्तिका हिसाबले पनि चार जनाको रु २२०० पर्दछ । यसरी हिसाब गर्दा एउटा कोठाको एक रातको मात्र रु ३६०० पर्न आउँछ । एटेन्ज बाथ रुम नभएका सामान्य होटलका कोठामा एक रातको रु ३६०० तिरेर सार्वजनिक टवाइलेट प्रयोग गर्ने सास्तीसहित सिन्डिकेटको मार खेप्न बाध्य छन् गोसाइकुन्ड जाने पर्यटकहरु ।

गोसाइकुन्ड पुग्दा तपाईंहरुले एक रात बिताउनु प¥यो भने प्रतिव्यक्ति रु १६५० तिर्नु पर्दछ । एक रात बसेर एक छाक खाएको । एउटा कोठामा कम्तीमा पनि २ जनादेखि ४÷६ जनासम्मलाई सुताउने गर्दछन् ।

पर्यटकीय र धार्मिक दृष्टिले यति ठूलो महत्व बोकेको गोसाइकुन्ड जाने पर्यटकले बाटो अवधिमा रहेका होटल व्यवसायीबाट खेप्नुपरेको सिन्डिकेटको विषयमा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेललाई जानकारी गराउँदा यस विषयमा पर्यटकबाट धेरैपटक गुनासो आएकाले छिट्टै लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख र स्थानीय जनप्रतिनिधिसँग बसेर छलफल गर्ने बताउनुभयो ।

गोसाइकुन्ड, सरस्वती कुण्ड, भैरव कुण्डलगायत धेरै रमणिय ताल यहाँ रहेका छन् । लामटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइकुन्ड प्राकृतिक सम्पदाको आकर्षणको सुन्दर घर हो । विविध वनस्पति, वन्यजन्तुहरुको बाहुल्यता रहेको यस क्षेत्रमा रेड पान्डा, हिउँ चितुवाजस्ता लोपोन्मूख प्रजातिका बन्यजन्तु पनि पाइन्छन् । विभिन्न रङका गुराँसहरु फुलेर बाटोभरि यात्रालाई झनै सुन्दर र मनमोहक बनाउने यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्न पुगेको छ ।

यति राम्रो सुन्दर, शान्त र मनोरम प्रकृतिले सिर्जित गोसाइकुन्डलाई सिन्डिकेटको जन्जिरले बाध्नुभन्दा पर्यटकको रुची अनुरुप गासबासको व्यवस्थापन गरी यसलाई अझै स्वदेश तथा विदेशमा प्रचार गर्न सकियो भने यहाँबाट धेरै मानिसले रोजगारीसँगै आर्थिकोपार्जन गर्न सक्छन् । सेवा दिएर लाभ लिने व्यवसाय गर्नुको सट्टा सिन्डिकेट लगाएर कानूनलाई नै चुनौती दिन खोज्नु गोसाइकुन्ड यात्रामा सञ्चालित होटल व्यवसायीको कदापि धर्म होइन ।

सेप्टेम्बरदेखि नोभेम्बर र मार्च महिनादेखि मे महिनासम्म गोसाइकुन्ड जाने समय उपयुक्त मानिन्छ । यस समयमा स्वदेशी तथा विदेशी पर्यटककको गोसाइकुण्ड जानेको बाक्लै उपस्थिति देखिन्छ । विशेषगरी जनै पूर्णिमामा मेला लाग्ने भएकाले पनि हजारौं तिर्थालुको त्यहाँ भिड लाग्ने गर्दछ । धार्मिक महत्वका हिसावले पनि यति ठूलो विश्वास बोकेको, पर्यटनका हिसाबले सुन्दर प्रकृतिको उपहार बोकेर उभिएको गोसाइकुण्डकै कारण रसुवाको धुन्चेदेखि गोसाइकुण्डसम्मको व्यापार व्यवसायमा लाभ लिइरहँदा पनि यसलाई सिन्डिकेटको साङ्लोले बाँधेर सीमित व्यक्तिले कमाइ खाने भाँडो बनाउनु अत्यन्त लज्जास्पद कुरा हो ।

हाम्रो देशभित्रका धार्मिक र पर्यटकीयस्थलमा सीमित व्यक्तिले कानून नै हातमा लिएर लुटधन्दा मच्चाइरहँदा सचेत नागरिक पनि थाहा पाइ थाहा पाइ ठगिन बाध्य भइरहेका छन् । देशकै मान र प्रतिष्ठा बोकेका यस्ता धार्मिक र पर्यटकीय महत्व बोकेका सुन्दर क्षेत्रहरुको सरकारले नै निगरानीमा राखेर होटल व्यवसायलाई निश्चित दरभाउ तोकेर सेवा दिने बाटोमा डो-याउनु जरुरी छ ।

(लेखिका नेपाल पत्रकार महासँघ सदस्य हुन् ।)

तपाईको प्रतिक्रिया