सङ्खुवासभामा दुई वटा नयाँ पुल सञ्चालनमा

  ५ घण्टा अगाडि

खाँदबारी (सङ्खुवासभा), ३ साउनः सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन् ।

यी पुलले स्थानीयको आवागमन र कृषि उत्पादनको बजार पहुँचमा सहजता ल्याउने अपेक्षा गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज यहाँ आयोजित एक कार्यक्रममा ती पुलको उद्घाटन गर्दै निर्माणमा भएको ढिलाइसुस्तीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले ठेकेदारको लापरबाहीका कारण जनताले समयमा सेवा पाउन नसकेका भन्दै यस्तो ढिलासुस्ती अब स्वीकार्य नहुने बताउनुभयो । चैनपुर नगरपालिका-१ र मादी नगरपालिका-९ जोड्ने यावरा खोलामाथिको ६३ मिटर लामो पुलको निर्माण विसं २०७३ देखि सुरु भएको थियो । विसं २०७९ पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि ठेकेदार कम्पनी कुन्सालिङ निर्माण सेवाको ढिलाइका कारण तीन वर्ष बढी समय लागेको हो ।

पुल निर्माणमा रु सात करोड १९ लाख ६५ हजार खर्च भएको छ । धर्मदेवी नगरपालिका-४ र मादी नगरपालिका-६ जोड्ने मायाखोलामाथिको ६३ मिटर लामो पुल निर्माण कम्पनीको लापरबाहीका कारण निर्धारित समयभन्दा साढे तीन वर्ष ढिलोगरी सम्पन्न भएको हो । विसं २०७४ मा सुरु भएको यो पुल निर्माणमा रु छ करोड २५ लाख ३९ हजार खर्च भएको जनाइएको छ । /राससका अनुसार यी दुई पुल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले यातायात र कृषि उपज ढुवानीमा राहत पाउनेछन् ।

तपाईको प्रतिक्रिया