‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’

  ९ घण्टा अगाडि

काठमाडौँ, ३१ असार : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले बालश्रम निवारणका लागि जनस्तरमा व्यापक अभिमुखीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्रालयमा आज ‘राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२’ सार्वजनिक गर्दै उहाँले यसका लागि सरोकारवालाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । मन्त्री भण्डारीले स्थानीय तहमा रहेका रोजगार संयोजकलाई बालश्रम निवारणमा परिचालित गर्न सकिने बताउनुभयो ।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरेको प्रतिबद्धताबमोजिम बालश्रमको क्षेत्रमा भएका उपलब्धि समेटी प्रतिवेदन प्रकाशन गर्न सकेकामा खुसी उहाँले खुसी व्यक्त गर्नुभयो ।

मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले विभिन्न मन्त्रालय र सरोकारवाला निकायले बालश्रम निवारणका क्षेत्रमा गरेका प्रयासलाई एकीकृत गरी प्रतिवेदन सार्वजनिक गरिएको स्पष्ट पार्नुभयो । कार्यक्रमका अध्यक्ष एवं सहसचिव डण्डुराज घिमिरेले बालश्रमसँग सम्बन्धित विभिन्न क्रियाकलाप समेटिएको सो प्रतिवेदन यस क्षेत्रको उपलब्धि भएको बताउनुभयो । प्रतिवेदनमा पछिल्लो समय बालश्रममा संलग्न बालबालिका, जोखिमपूर्ण काममा संलग्न र कृषि क्षेत्रमा संलग्नको प्रतिशत घटेको उल्लेख छ । /राससका अनुसार हालसम्म मुलुकभरका विभिन्न १० वटा स्थानीय तह बालश्रममुक्त घोषणा भएका छन् ।

तपाईको प्रतिक्रिया