जनकपुरधाम, २९ असार : आकाशेपानीको अभावमा मधेस प्रदेशमा असारको अन्तिम हप्तासम्म अर्थात् हालसम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालयले लामो समयदेखि पानी नपरेकाले भूमिगत सिँचाइको माध्यमबाट किसानले धान रोपाइँ गरिरहेको जनाएको छ ।
खोला, नदी तथा नहरहरूमा पानीको सतह कम भएकाले सिँचाइ हुन नसक्दा डिपट्युवेल, स्यालोटयुवेल तथा बोरिङको पानीबाट धान रोपाइँ भइरहेको हो । हालसम्म ८० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसक्नुपर्नेमा यसपटक पानी अभावले ३५ प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयका वागवानी अधिकृत प्रदीप यादवले बताउनुभयो । मधेस प्रदेशमा तीन लाख ७२ हजार ५४५ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म एक लाख २७ हजार हेक्टरमा रोपाइँ भएको उहाँले जानकारी दिनुभयो ।
हालसम्म पर्सामा ७५ प्रतिशत, बारामा ४१ प्रतिशत, रौतहटमा ४५, महोत्तरीमा १९, धनुषामा २६, सिरहामा ३०, सप्तरीमा १७ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
मधेस प्रदेशमा पाँच लाख ४२ हजार पाँच सय ८० हेक्टर खेतीयोग्य जमिन रहेको छ, जसमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धानखेती हुँदै आएको निर्देशनालयले जनाएको छ । विभिन्न नदी, नाला तथा खोलाको पानीबाट ३० प्रतिशत मात्र खेती सिँचाइ हुँदै आएको राससले जनाएको छ ।