‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ सम्पन्न

  ८ घण्टा अगाडि

भक्तपुर, २९ असार : विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिर परिसरमा २१२औँ भानु जयन्तीको अवसर पारेर आयोजना गरेको ‘चाँगुनारायणमा कला, कलामा साहित्य महोत्सव’ आज सम्पन्न भएको छ ।

चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको महोत्सव नगरप्रमुख जीवन खत्रीको सभापतित्व एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमको शुभारम्भमा कवि डा सुलोचना मानन्धरले नगरकोटमा रहेको रानीझुलाका बारेमा लेख्नुभएको कविता वाचन गर्नुभएको थियो । त्यसपछि कविहरू श्रवण मुकारुङ, स्नेह सायमी, नारायण श्रेष्ठ, गीता त्रिपाठी, मणि लोहनी, अभय श्रेष्ठ, सन्ध्या पहाडी, राधिका कल्पित, हरिहर तिमिल्सिना, विमला तुम्खेवा र पुरु लम्सालले कविता वाचन गर्नुभयो ।

त्यस क्रममा विना थिङ, डा सरोज धिताल, लक्ष्मी माली, लक्ष्मी रुम्वा, लक्ष्मी थापा, प्रगति राई, अनन्त वाग्ले, धर्मेन्द्रविक्रम नेम्वाङ, दीपक सापकोटा, गुरुङ सुशान्त, अमनप्रताप अधिकारी, सीता तुम्खेवा, स्वप्तिन स्मृति, जुनु घिमिरे, दधिराम गेलाल, नरेन्द्रकुमार गेलाल, अप्सरा लावती, विप्लव प्रतीक, रामशरण न्यौपाने, रामगोपाल आसुतोष, कविराज घिमिरे र जनार्दन रिजालले सम्पदामाथि लेखिएका कविता वाचन गर्नुभएको थियो ।

चाँगुनारायण मन्दिर परिसरमै बसेर कलाकारहरूले बनाएका यस क्षेत्रका विभिन्न सम्पदाका चित्र अवलोकन गर्दै कविहरूले कविता कोर्नुभएको थियो । कलाकार अर्थात् चित्रकारहरू मुकेश श्रेष्ठले मनोहरा फाँट, जुजुभाइ वाँस श्रेष्ठले सरस्वती मन्दिर, दीपेन्द्रमान बनेपालीले तामाङ सेलो नृत्य, चाँगुनारायणवासी सरोज लामिछानेले रानीझुला (लामो झोलुङ्गे पुल)लाई क्यान्भासमा उतार्नुभएको थियो ।

स्थानीय कलाकार अञ्जन अधिकारीले बाँस्तोला गाउँको होमस्टे, पर्वत श्रेष्ठले महामञ्जुश्री मन्दिर, अंशुराम खाइजुले नगरकोट भ्यू प्वाइन्ट, मङ्गलकृष्ण प्रजापतिले माउन्टेन रेञ्ज, राजन श्रेष्ठले ज्योतिर्लिङ्गेश्वर महादेव, रामशरण प्रजापतिले चाँगुनारायण मन्दिर, गौरीमाया कोजुले वाल्मीकेश्वर महादेव, दीपेशमान सिंप्रधानले वोझिनी ड्यामलाई चित्रमा आकर्षक रूपमा उतार्नुभएको थियो ।

यस्तै, कलाकार झलक केसीले चाँगुनाराण मन्दिर, चन्द्रा श्रेष्ठले तामाङ जनजीवन, राधेश्याम कर्माचार्यले त्रिपुरासुन्दरी, किशोर नकर्मी गौतमले बुद्धलगायत विभिन्न चित्र क्यानभासमा उतार्नुभयो । आज दिनभर चाँगुनारायण प्राङ्गणमा प्रदर्शनीमा राखिएका चित्र हेरेर कविहरूले पहिलो चरणमा कविता रचना गर्नुभएको थियो भने त्यही कविता दोस्रो चरणमा वाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता वाचन गर्ने कवि एवं चित्र कोर्ने कलाकारलाई कदरपत्रसहित सम्मान गर्नुभयो । उहाँले मठमन्दिर बनाएर मात्रै हँुदैन भन्दै कला, संस्कृति र भाषालाई जोगाएर विश्वमाझ पस्कन सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।

चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले नगरपालिका कला, साहित्य, सम्पदा र ऐतिहासिक धरोहरको संरक्षण गर्न सधैँ तत्पर रहेको भन्दै त्यसका लागि नगरपालिका साहित्यिक प्रतिष्ठान स्थापना गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र स्थापनाको मूल आधार कला र साहित्य नै हो भन्ने यथार्थलाई भुल्न सकिँदैन । साहित्यले नै विश्वमा ठूला परिवर्तन सम्भव भएका उदाहरण छन्, अप्राकृतिक वस्तु देखाएर पर्यटक आकर्षित गर्ने जमानामा हामीसँग रहेका ऐतिहासिक, धार्मिक, सम्पदाका बारेमा प्रचार गरेर विश्वभरका पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले चाँगुनारायणको आँगनमा कला र साहित्यलाई एकैसाथ पस्किएका हौँ ।”

कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, शङ्करापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, चाँगनारायण नगरपालिका–४ का वडाध्यक्ष रोजबहादुर तामाङ, समीक्षक गुरुङ सुशान्त र कुमारी लामाले कला र साहित्यको फ्युजनका रुपमा आयोजना गरिएको महोत्सव उत्कृष्ट रहेको चर्चा गर्दै यसलाई अरू पालिकाले पनि अनुशरण गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया