काठमाडौँ, २७ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवसेवा आश्रमको विकासका लागि सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।
आज उहाँकी धर्मपत्नी सीता दाहालको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँको रानीवनस्थित आश्रम कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले हेटौँडाको केन्द्रीय कार्यालयको उद्घाटन पनि प्रधानमन्त्रीको हैसियतमा आफैँले गरेको स्मरण गर्दै आश्रमका लागि सहयोग निरन्तर रहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो र परिवारका तर्फबाट र आफ्नो दलका तर्फबाट निरन्तर तपार्इंहरुको भावना र आवश्यकताप्रति इमान्दारिताका साथ सहयोग गरिरहने विश्वास पनि तपाईंहरुलाई दिलाउन चाहन्छु ।”
उहाँले स्व सीताको स्मृतिलाई दिगो राख्न र सबैका निम्ति प्रेरणा मिलोस् भनेर आश्रममा आएको बताउनुभयो । यहाँ उहाँले आज आश्रितहरुलाई भोजन सेवासमेत प्रदान गर्नुभएको थियो । उहाँले राज्यले गर्नुपर्ने काम आश्रमले गरिरहेको उल्लेख गर्दै चुनौतीपूर्ण र संवेदनशील क्षेत्रमा आश्रमले काम गरिरहेको बताउनुभयो ।
यो राष्ट्रिय रुपमा मात्रै होइन नेपाल मौलिक विशेषता भएको देशका रुपमा स्थापित हुने र विश्वभरिको ध्यान खिच्दै गएको उल्लेख गर्नुभयो । आउने दिनमा यसबाट सबैले ठूलो प्रेरणा लिने उल्लेख गर्दै उहाँले आफ्नो तर्फबाट संस्थाको विकासमा सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभयो ।
महत्वपूर्ण ठाउँमा पुगेका व्याक्तिहरु सडकमा पुगेका तर यहाँ आएपछि नयाँ जीवन पाएका र पुरानो स्मृति फर्किएको सबै सुन्दा कथाजस्तो लाग्ने तर यो यथार्थ भएको र यो सेवाका लागि आश्रमलाई धन्यवाद दिनुभएको राससले जनाएको छ ।