विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

  ६ घण्टा अगाडि

काठमाडौँ, २५ असारः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न तथा किसानका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा उहाँहरूले विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वचेतावनीलाई प्रभावकारी बनाउन, किसानलाई सहज रूपमा मल, बीउ र सिँचाइको सुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सांसद रेखा शर्माले पूर्वतयारी प्रभावकारी नहुँदा प्राकृतिक प्रकोपबाट धेरै जनधनको क्षति भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । उहाँले रसुवामा बाढीबाट भएको जनधनको क्षतिका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद शर्माले मलको अभावमा किसानले धान रोप्न नपाएका उल्लेख गर्दै मलको आपूर्तिमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद लालप्रसाद साँवा लिम्बूले मानो रोपेर मुरी उब्जाउने अवस्थामा किसानले मल पाउन नसक्दा चिन्तित भएका बताउनुभयो । “कृषिमा आत्मनिर्भर, आधुनिकीकरण, उत्पादन वृद्धि भनिरहेका छौँ, तर मलको अभाव छ, कसरी यो लक्ष्य पूरा हुन्छ । आगामी दिनमा मलको अभाव हुन नदिन विशेष योजना बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद योगेन्द्र मण्डलले समयमा मल, बीउ, सिँचाइको सुविधा उपलब्ध गराएर किसानलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । सांसद रणकुमारी बलम्पाकी मगरले प्राकृतिक विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राजेन्द्रकुमार केसीले तीनै तहका तालिमप्राप्त सुरक्षाकर्मीलाई दुरुपयोग गरी पूर्वमन्त्री, राजनीतिककर्मी, उच्चपदस्थ तथा अवकाशप्राप्त व्यक्तिको घरमा खटाइने प्रवृत्ति तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राजेन्द्रकुमार राईले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि न्यून बजेट उपलब्ध गराइँदा नागरिक समस्यामा परेका बताउनुभयो ।

सांसद रामकुमार राईले खेतीबालीको समयमा किसानले मल पाइरहेको छैन, कहिले पर्याप्त मल, बीउको व्यवस्था हुन्छ ? भनी प्रश्न गर्नुभयो । सांसद रामकृष्ण यादवले मङ्गलबार रसुवामा आएको बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी गर्न र क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न माग गर्नुभयो ।

सांसद रामशङ्कर यादवले तराई मधेसका क्षेत्रमा खडेरीका कारण खानेपानी र सिँचाइको समस्या बढ्दै गएको जनाउँदै आधारभूत सुविधा उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद रामहरि खतिवडाले वर्षाका कारण राजमार्ग, विद्युत्, खानेपानी, मल, बीउ, सिँचाइको अभाव भइरहेकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रुक्मिणी राना बराइलीले सुनका गहनामा लगाइएको बिलासी कर हटाउन माग गर्नुभयो ।

सांसद रुपा शोशी चौधरीले कैलालीको जानकी गाउँपालिकामा मृतकका सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सो सम्बन्धमा निश्पक्ष छानबिन गर्न माग गर्नुभयो ।

सांसद लेखनाथ दाहालले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितताको तत्काल निश्पक्ष छानबिन अघि बढाउन माग गर्नुभयो ।

सांसद बिजुला रायमाझीले प्राकृतिक विपद्बाट विपन्न समुदाय र बस्ती बढी प्रभावित हुने भएकाले यसतर्फ सरकारको ध्यान पुग्नुपर्ने बताउनुभयो ।

सांसद महेश बर्तौला खेतीबालीको समयमा सिङ्गो मुलुकभर मलको अभाव रहेकाले तत्काल मल उपलब्ध गराउन कृषि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेश बस्नेतले इलाममा रहेको नेपाल–भारत पशुपति नगर नाकामा भारततर्फ भन्सार कार्यालय नहुँदा स्थानीय र औद्योगिक वस्तु निर्यातमा समस्या भएको जनाउँदै सोसमस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो ।

सांसदहरू भगवती चौधरी, भानुभक्त जोशी, महिन्द्रराय यादव, महेन्द्रबहादुर शाही, सांसद मीना तामाङ, मेटमणि चौधरी, मैना कार्की र मङ्गलप्रसाद गुप्ताले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको राससले लेखेको छ।

तपाईको प्रतिक्रिया