त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त

  ८ घण्टा अगाडि

काठमाडौँ, २५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याललाई नियुक्त गर्नुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । यसरी सिफारिस हुनुभएका तीनजनाबाट आज प्रा डा अर्याल उपकुलपतिमा नियुक्त हुनुभएको प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव विष्णु सुवेदीले जानकारी दिनुभयो ।

समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो ।

उपकुलपति प्रा डा केशरजङ्ग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया