परराष्ट्रमन्त्री र जर्मनीका विदेशमन्त्री भेटवार्ता : सिधा हवाई उडानका लागि आग्रह

  ६ घण्टा अगाडि

काठमाडौँ, २४ असार : रराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलबिच मङ्गलबार द्विपक्षीय भेटवार्ता भएको छ। जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । 

उक्त अवसरमा मन्त्री डा. राणाले जर्मनी नेपालको ठुलो र पुरानो विकास एवं व्यापार साझेदारहरूमध्ये एक रहेको तथा आर्थिक, सामाजिक लगायतका क्षेत्रमा नेपालले जर्मनीको सहयोग प्राप्त गर्दै आएको स्मरण गर्दै जर्मनी सरकार एवं जर्मन नागरिकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो । 

मन्त्री डा. राणाले नेपाल र जर्मनीबिचको द्विपक्षीय व्यापार थप प्रवर्धन गर्न सामूहिक प्रयास एवं दुवै देशका निजी क्षेत्रबिचको सञ्जाललाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै नेपालमा रासायनिक मल उत्पादन कारखाना लगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गर्नुभएको थियो । 

उक्त अवसरमा मन्त्री डा. राणाले नेपालले २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि यसलाई सहज एवं दिगो बनाउन रणनीति बनाइरहेको जानकारी दिँदै त्यसपछि नेपालले जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरूबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो ।  

त्यसैगरी मन्त्री डा. राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद सदस्य तथा सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा विदेशमन्त्री डेविडले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।  

जर्मनी नेपालका लागि युरोपको दोस्रो ठुलो पर्यटक स्रोत रहेको तथा दुई देशबिच पर्यटनको ठुलो सम्भावना रहेको भए पनि प्रत्यक्ष हवाई सम्पर्कको अभावमा यसबाट पूर्ण मात्रामा लाभ लिन नसकिरहेकाले दुई देशबिच सिधा उडानका लागि पनि मन्त्री डा. राणाले आग्रह गर्नुभयो ।  

नेपाली एयरलाइन्स युरोपियन युनियनको हवाई सुरक्षा सूचीमा सूचीबद्ध भएपछिको उडान प्रतिबन्धका कारण नेपाल र युरोपबिच सिधा उडान हुन नसक्दा दुई देशबीचको पर्यटन प्रवर्धनमा गम्भीर असर गरिरहेको जानकारी पनि उहाँले गराउनुभयो ।   

नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गर्न संसदमा दुई विधेयक पेस गरेको र प्रस्तावित कानुन विश्वकै उत्कृष्ट अभ्यास मात्र नभएर इयु र आइकाओको सिफारिस बमोजिम समेत रहेकाले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने भूमिकाका लागि इयुको एक प्रभावशाली सदस्य राष्ट्र समेत रहेको जर्मनीसँग उहाँले अनुरोध गर्नुभयो। यस विषयमा आफूले सक्दो सहयोग गर्ने आश्वासन जर्मनीका विदेशमन्त्री डेविडले दिनुभएको थियो । 

भेटका क्रममा मन्त्री डा. राणाले नेपालमा जलवायु परिवर्तनको अकल्पनीय असर परिरहेको र यसबाट देशले अनेक दुष्परिणाम बेहोरिरहेको प्रसंग उल्लेख गर्दै नेपालले अघि सारिरहेको जलवायु न्यायको अभियानमा जर्मनीसँग पनि सहयोगको अपेक्षा गर्नुभयो ।

तपाईको प्रतिक्रिया