विपद् प्रभावितको उद्धार गर्न सांसदको माग

  ६ घण्टा अगाडि

काठमाडौँ, २४ असार : सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गर्नुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले विपदको पूर्वतयारीलाई तीव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर्न र जनधनको क्षति न्यून गराउने अधिकतम उपायको खोजी गर्न आग्रह गर्नुभयो । 

सांसद वर्षमान पुनले मनसुनजन्य विपदको तयारीमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो।  उहाँले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक रोकिएकामा जिज्ञासा राख्नुभयो । 

सांसद  डिगबहादुर लिम्बूले वर्षातको समयमा किसानले रासायनिक मलको अभावमा खेतीपाती गर्न समस्या भए पनि राज्यले उचित प्रबन्ध गर्न नसकेको बताउनुभयो।  सांसद दीपा शर्माले देशभर प्राकृतिक विपदका कारण जनधनको क्षति भएको विवरण पेश गर्दै राहत तथा उद्धारको उचित प्रबन्ध गर्न माग गर्नुभयो ।

सांसद प्रेम सुवालले बाढी र पहिरोका कारण रसुवागढीमा भएको जनधनको क्षति बारेमा यर्थाथ जानकारी गराउन गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउनुभयो। सांसद तारा लामा तामाङले रसुवामा आज आएको बाढी पहिरोमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । 

सांसद दामोदर पौडेलले सरकारले सुन चाँदी व्यवसायीले विलासिता कर हटाउन राखेको मागको उचित सम्बोधन गर्न आग्रह गर्नुभयो।  सांसद दीपक गिरीले कोभिड–१९ को कहरपछि मुलुक आर्थिक सङ्कटमा फसेको, विकास बजेटको प्रभावकारी खर्च हुन नसकेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई व्यवसायीमैत्री बनाउन आग्रह गर्नुभयो। 

सांसदहरु दुर्गा राई, नागिना यादव, नारायणप्रसाद आचार्य, नारायण शर्मा, निर्मला कोइराला, पूर्णबहादुर घर्ती, प्रकाश ज्वाला, प्रतिमा गौतम, प्रेमबहादुर आले र वासुदेव घिमिरेले पनि मनसुनजनय घटनामा वृद्धि भएकाले जनधनको क्षति हुन नदिन आपतकालीन उद्धार तथा राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।  

यस्तै आकस्मिक समयमा बोल्दै सांसद विश्वप्रकाश शर्मा, सांसद देवेन्द्र पौडेल, सांसद अर्जुननरसिंह केसी, सांसद ईश्वरबहादुर रिजाल, सांसद विमला सुवेदी, सांसद प्रकाशशरण महत, सांसद सीता मिजार र सांसद डा अमरेशकुमार सिंहले रसुवामा आएको भीषण बाढीमा परेकाहरुको उद्धारमा ढिलाइ नगर्न आग्रह गर्नुभयो । 

यसैगरी, सांसदद्वय देवेन्द्र पौडेल र श्यामकुमार घिमिरेले उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकहरुले देशभरि आकस्मिकबाहेकका सेवा ठप्प पार्दा सर्वसाधारण मार्कामा परेकाले यथाशीघ्र सम्बन्धित निकायसँग वार्ता गरी निकास निकालिनुपर्ने बताउनुभयो । 

सांसद प्रभु हजारा, सांसद प्रभु साह र सांसद दिनेशकुमार यादवले मधेशमा खानेपानीको समस्याबारे सदनमा ध्यानाकर्षण गराउनुभयो।  मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानीको हाहाकार रहेकाले खानेपानी उपलब्ध गराउन उहाँहरुले माग गर्नुभयो।  यसैगरी, सांसद दिनेशकुमार यादवले सप्तरी जिल्लामा खानेपानीको हाहाकारसँगै मल र खादको पनि अभाव रहेकाले समस्याको सम्बोधन गर्नुपर्ने बताउनुभयो । 

सांसद हरिप्रासद उप्रेतीले उखु किसानहरुले अनुदान नपाउँदा उद्योगहरु बन्द हुने स्थितिमा पुगेकाले किसानले बेचेको उखुँको पैसा र अनुदान पाउनुपर्ने बताउनुभयो।  सांसद धनबहादुर बुढा, सांसद कान्तिका सेजुवाल र सम्झना थपलियाले विभिन्न समसामयिक विषयमा आफ्ना मागबारे संसद्को ध्यानाकर्षण गराउनुभयो । (रासस)

तपाईको प्रतिक्रिया