टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी

  १० घण्टा अगाडि

हन्ट, संयुक्त राज्य अमेरिका, २२ असार : अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ । उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी गरिरहेका छन् ।

मध्य टेक्सासमा समुदायहरूमा पानी बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ, ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर) ले बढेको थियो ।

केर काउन्टीको ग्रीष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका समय आएको बाढीका कारण ठूलो सङ्ख्यामा मानवीय हताहत भएको हो ।

बाढीप्रभावित क्षेत्रका शेरिफ ल्यारी लेइथाले भन्नुभयो, “हामीले केर काउन्टीमा ४३ जना मृतकलाई उद्धार गरेका छौँ । तीमध्ये २८ जना वयस्क र १५ जना बालबालिका छन् ।”

अन्य काउन्टीहरूमा पनि बाढीको असर परेको र धेरै पीडितहरू फेला परेका छन् । बाढीका कारण अहिलेसम्म (आइतबारसम्म) मृत्यु हुनेहरूको सङ्ख्या ५० पुगेको छ ।

टेक्सास डिपार्टमेन्ट अफ इमर्जेन्सी म्यानेजमेन्टका प्रमुख निम किडले वायु, स्थल र जल सेनाले ग्वाडालुप नदीको किनारमा वेपत्ताहरूको खोजी कार्य जारी राखेका छन् ।

उहाँले भन्नुभयो, “बेपत्ता भएका सबै नभेटिँदासम्म उनीहरूको खोजी जारी रहनेछ ।”

टेक्सासका गभर्नर ग्रेग एबोटले आफूले राज्यको विपद् घोषणालाई विस्तार गरिरहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग थप सङ्घीय स्रोतको अनुरोध गरिरहेको बताउनुभएको छ ।

उपराष्ट्रपति जेडी भान्सले शनिबार उक्त विपत्तिलाई ’नबुझिने खालको त्रासदी’ को संज्ञा दिनुभएको छ ।

– ठूलो मानवीय क्षति –
टेक्सास राज्यको सार्वजनिक सुरक्षा विभागका निर्देशक फ्रिम्यान मार्टिनले लगातारको भारी वर्षाका कारण उद्धारकर्ताका लागि अवस्था चुनौतीपूर्ण बनेको बताउन्ुभयो ।

मार्टिनले यस विपत्तिलाई ‘सामूहिक हताहतको घटना’ भन्नुभएको छ ।

राज्य र स्थानीय अधिकारीहरूले नदीको किनारमा अवस्थित याम्प मैदानहरूसहित दर्जनौं सडक क्षेत्रमा यात्रा गर्ने बासिन्दाहरूलाई चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा १२ फिटसम्मको भारी वर्षाका कारण आएको बाढीले घर र रूखहरू बगाएको देखाइएको छ जुन केर काउन्टीको औसत वार्षिक वर्षाको एक तिहाइ हो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया