‘जलविद्युत्को सेयरमार्फत जनतालाई समृद्ध बनाउन सरकार प्रयासरत छ’

  ७ घण्टा अगाडि

काठमाडौँ, २० असार : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनाको सेयरमार्फत गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबारदेखि जारी बैठकमा आज आफ्नो धारणा राख्दै कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री खड्काले गरिब तथा विपन्न जनतालाई सेयरमार्फत समृद्ध बनाउनेगरी सरकारले कार्ययोजना बनाएको उल्लेख गर्नुभयो ।

नेता खड्काले पार्टीले लिएको समाजवादको सिद्धान्तलाई अवलम्बन गर्दै समृद्ध मुलुक निर्माणमा आफूले काम गरिरहेको बताउनुभयो । “जलविद्युत् क्षेत्रमार्फत मुलुकको विकास सम्भव छ, म मन्त्री भएर आएपछि भारतसँगै बङ्गलादेशमा समेत विद्युत् निर्यात सुरु गरेका छौँ, उक्त कार्यसँगै त्रिदेशीय विद्युत् व्यापार भएको छ”, उहाँले भन्नुभयो ।

उहाँले भारत र भारत हुँदै बङ्गलादेश विद्युत् निर्यातका लागि ठूला प्रसारण लाइन निर्माणमा महत्त्वपूर्ण सम्झौता भई र प्रसारण लाइन निर्माण अगाडि बढेको जानकारी गराउनुभयो । यस्तै विद्युत् उत्पादन तथा व्यापारका लागि चीनसँग सकारात्मक छलफल भएको उहाँले बताउनुभयो ।

नेता खड्काले आफू मन्त्री भएपछि ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ऐतिहासिक र उत्कृष्ट काम भएको बताउनुभयो । आगामी आर्थिक वर्षका लागि आफ्नो मन्त्रालयले समानुपातिक ढङ्गले बजेट विनियोजन गरेको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया