कायरोमा नेपालसम्बन्धी फोटो प्रदर्शनी

  १२ घण्टा अगाडि

काठमाडौँ, १७ असार : इजिप्टको राजधानी कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा त्यहाँको ओपेरा हाउसमा ‘फेसेस फ्रम नेपाल’ नामक तीन दिवसीय फोटो प्रदर्शनी आयोजना गरिएको छ ।

इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले आज उद्घाटन गर्नुभएको प्रदर्शनीमा इजिप्टका फोटो पत्रकार यासेर आला मुबारकद्वारा सन् २०२४ को महाशिवरात्रिमा काठमाडौँ पशुपतिनाथ परिसरमा खिचिएका ३० वटा तस्बिर समावेश छन् ।

कायरोस्थित नेपाली दूतावासका अनुसार त्यसअवसरमा राजदूत लम्सालले नेपाल तथा इजिप्टबीचको द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा जनस्तरको सम्बन्ध महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रको महत्त्वबारे वर्णन गर्दै तस्बिर प्रदर्शनीले दर्शकलाई नेपालको मौलिक एवं प्राचीन सांस्कृतिक विरासतको झल्को दिएको विचार प्रकट गर्नुभयो ।

सर्जक पत्रकार मुबारकले नेपालमा तस्बिर खिच्दाको आफ्नो अनुभव सुनाउँदै अपार एवं विविधतापूर्ण सांस्कृतिक सम्पदाको धनी भएका कारण नेपाल फोटोग्राफरका लागि ठूलो आकर्षणको केन्द्रका रहेको बताउनुभयो । उहाँले फोटो प्रदर्शनीजस्ता गतिविधिले नेपाल–इजिप्ट सांस्कृतिक आदानप्रदानको आधार थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा फोटोग्राफर तथा पत्रकार, कलाकार, कूटनीतिक नियोगका प्रतिनिधि, विद्यार्थीसहित करिब १०० जनाको सहभागिता रहेको दूतावासले जनाएको छ । फोटो प्रदर्शनी यही असार १९ गतेसम्म सञ्चालन हुने राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया