नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण

  असार १३, २०८२

मानव जीवनका विभिन्न पाटोलाई एआई प्रविधिले सहज बनाइरहेको परिप्रेक्षमा चीन र नेपालका स्वास्थ्य विज्ञहरूले बिहीबार आपसी सहकार्यका संभाव्यताबारे बहस गरेछन् । ग्वान्जाउस्थित नेपाली महावाणिज्यदूतावासले सम्बन्धित विज्ञहरू तथा नेपाली चिकित्सा क्षेत्रका व्यक्तिहरूलाई अनलाइन तथा अफलाइन तरीकामार्फत् यस्तो ब्रिजिङ हेल्थकेयर फ्युचरः नेपाल-चीन डिजिटल हेल्थ कोअपरेसन विषयक अन्तर्क्रिया कार्यक्रम संयोजन गरेको थियो ।

डिजिटल प्रविधिले आजको चिकित्सा क्षेत्रलाई बढावा दिनुका साथै प्रभावकारी रुपमा मानव विशेषज्ञतालाई अघि बढाउनसक्ने सहभागीहरूको ठहर थियो । भिडियो सन्देशमा स्वास्थ्यमन्त्री प्रदीप पौडेल र प्रत्यक्ष रुपमा बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले चिनियाँ उद्यमीहरूलाई नेपालमा लगानी गर्नसक्ने संभावनाबारे चर्चा गरे ।

नेपाल-चीन दौत्य सम्बन्ध स्थापनाको ७ दशक पूरा हुँदासम्म चीनले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग गरेको छ । भविष्यमा डिजिटल प्रविधिमा पनि सहकार्य गर्ने वातावरण रहेको मन्त्रीहरुको भनाइ थियो । चीनले कोभिड-१९, २०१५ को भूकम्प लगायत विभिन्न कठीन अवस्थामा नेपाललाई स्वास्थ्य सहायता दिएको पनि उनीहरूले बताए ।

चीनका लागि नेपाली महावाणिज्यदूत भरत खनाल,  ग्वाङडोङ स्वास्थ्य आयोगका उपमहानिर्देशक तङ लिनफङ, ग्वाङडोङ स्वास्थ्य आयोगका उपमहानिर्देशक चौ रुइहुआले ग्वाङडोङमा डिजिटल स्वास्थ्य सेवा प्रविधिमा  भइरहेको प्रगतिको बारेमा बताए ।

नेपालको चिकित्सा सुविधाहरू: वर्तमान परिदृश्य र भविष्यको मार्गचित्रबारे डा. अच्युत राज कार्कीले प्रस्तुती दिए भने स्वास्थ्य सेवामा डिजिटल प्रविधि र प्रगतिको प्रयोग: चीन र नेपाल बीच लाभहरूको आदानप्रदानका विषयमा डा. राजीव प्रसाद केशरीले चर्चा दिए ।

चीनमा एआई-संचालित स्वास्थ्य सेवाको प्रगति र भविष्यको सम्भावनाहरू – चाइनिज एकेडेमी अफ साइन्सेसको ग्वाङडोङ इन्स्टिच्युट अफ बायोमेडिसिन एण्ड हेल्थका प्रमुख अन्वेषक डा. चु यिङयिङ, सक्रिय स्वास्थ्य व्यवस्थापनमा नयाँ क्रान्तिको नेतृत्वमा बिड डाटाकाबारेमा छी योङले व्याख्या गरेका थिए ।

मानव जीवनका विभिन्न पाटोलाई एआई प्रविधिले सहज बनाइरहेको परिप्रेक्षमा चीन र नेपालका स्वास्थ्य विज्ञहरूले बिहीबार आपसी सहकार्यका संभाव्यताबारे बहस गरेछन् ।

चिकित्सा स्रोतसाधनको वितरणमा असन्तुलन विश्वव्यापी समस्या बनेको हुनाले चीनले पनि शहरी र ग्रामीण क्षेत्रबीच अस्पताल, चिकित्सा कर्मचारी र उपकरणहरूको वितरणमा डिजिटल प्रविधिको सहयोग लिइरहेको छ । दुर्गम क्षेत्रहरूले आधारभूत चिकित्सा सेवा प्रत्याभूत गर्न डिजिटल स्वास्थ्य प्रविधिलाई अपनाएको छ । चीनको द्रत गतिको डिजिटल विकासबाट नेपाल पनि लाभान्वित हुन चाहेको सहभागी नेपाली विज्ञहरूले चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया