पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

  ७ घण्टा अगाडि

काठमाडौँ, ११ असार : विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरण्को उहाँविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा आज भएको थुनछेक बहसपछि अदालतले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पूर्वप्रधानमन्त्री नेपाललाई नगद रु ३५ लाख वा सो बराबरको बैंक जमानतमा छाड्न आदेश भएको छ ।” न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उक्त थुनछेक आदेश गरेको हो ।

आज पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित हुनुभएपछि अपराह्नदेखि उहाँसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरुले थुनछेक बहस गर्नुभएको थियो । नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गर्नुभएको थियो ।

पतञ्जली योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

विगतमा पतञ्जली योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया