म्याग्दीका छ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

  ७ घण्टा अगाडि

बेनी (म्याग्दी), ११ असार : म्याग्दीमा रहेका एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।

आगामी आर्थिक वर्ष २०८२-८३ का लागि जिल्लाका सबै स्थानीय तहहरुले निर्धारित समयमै गाउँ÷नगरसभामार्फत नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् । पूर्वाधार निर्माण, सामाजिक विकास, कृषि, पशुपालन र रोजगार सिर्जनालाई प्राथमिकता दिएका जिल्लाका स्थानीय तहहरुले चालु आर्थिक वर्षमा खर्च हुन बाँकी रहने रकम, सानो आकारको आन्तरिक आम्दानीमा सङ्घ र प्रदेशबाट आउने अनुदानलाई जोडेर बजेट सार्वजनिक गरेका छन् ।

जिल्लामा रहेको एक मात्रै नगरपालिका बेनी नगरपालिकाले रु ७१ करोड ८० लाख २७ हजारको बजेट पारित गरेको छ । मङ्गलबार सदरमुकाम बेनीमा सम्पन्न १७औँ नगरसभामा मेयर सुरत केसीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख ज्योति लामिछानेले पेस गर्नुभएको बजेट छलफलसहित पारित भएको हो । सभामा लामिछानेले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ रु ५४ करोड ९३ लाख ३० हजार र पुँजीगततर्फ रु १६ करोड ८६ लाख ९७ हजार विनियोजन गरिएको छ ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिकाले कूल रु ६० करोड ७६ लाख दुई हजार बराबरको बजेट पारित गरेको छ । २१औँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले आउँदो वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि चालुतर्फ रु ३७ करोड ५३ लाख १२ हजार ४३५ र पुँजीगततर्फ रु २३ करोड २२ लाख ९० हजार ३५८ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

यस्तै धौलागिरि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि रु ४६ करोड ५६ लाख छ हजार ५६३ को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न २४ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट छलफलपछि सर्वसहमतिमा पारित भएको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च हुननसक्ने अनुमानित रु दुई करोड र रु ४५ लाख आन्तरिक आम्दानीबाहेक सङ्घीय तथा प्रदेश सरकारले विभिन्न शीर्षकमा उपलब्ध गराउने अनुदानलाई स्रोत मानेर बजेट पारित गरेको हो ।

त्यसैगरी मङ्गला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४४ करोड ६१ लाख ५६ हजार ४५१ बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाले चालु खर्चतर्फ रु ३१ करोड ३३ लाख २० हजार ४५१ र पुँजीगततर्फ रु १३ करोड २७ लाख ३६ हजार बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै मालिका गाउँपालिकाले रु ४६ करोड दुई लाख तीन हजारको बजेट पारित गरेको छ । गाउँसभाको १७औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले चालुतर्फ रु ३२ करोड ९४ लाख ८७ हजार र पुँजीगततर्फ रु १३ करोड सात लाख १९ हजार बजेट विनियोजन भएको जानकारी गराउनुभएको थियो ।

त्यस्तै रघुगङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ५० करोड ११ लाख बढीको बजेट पारित गरेको छ । गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको रु ५० करोड ११ लाख ४० हजार ८२० बराबरको बजेटमाथि छलफल गरी सर्वसम्मत रुपमा पारित भएको हो । गाउँपालिकाले चालुतर्फ रु ३७ करोड ६७ लाख ६० हजार ८२० र पुँजीगततर्फ रु १२ करोड ४३ लाख ९० हजार बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया