इजरायली सेनाद्वारा सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या : उद्धारकर्ता

  ११ घण्टा अगाडि

गाजा सिटी, १० असार :गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले मङ्गलबार प्यालेस्टिनी क्षेत्रको केन्द्रमा रहेको वितरण स्थल नजिकै सहायताको प्रतीक्षामा रहेका २१ जनाको हत्या गरेको बताएको छ । यो सहायता खोज्नेहरूलाई लक्षित गरिएको पछिल्लो घातक घटना हो ।

मङ्गलबार मध्य गाजामा सहायताका लागि पर्खिरहेका नागरिकहरूको जमघटलाई लक्षित गरी भएको इजरायली आक्रमणका कारण उनीहरूको मृत्यु भएको र अन्य एक सय ५० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले बताउनुभयो । गाजा पट्टीमा मिडियामा इजरायली प्रतिबन्ध र केही क्षेत्रमा पहुँचमा कठिनाइको अर्थ प्यालेस्टिनी क्षेत्रमा उद्धारकर्ता र अधिकारीहरूले प्रदान गरेको सङ्ख्या र विवरणहरू स्वतन्त्र रूपमा प्रमाणित गर्न असमर्थ भएको बताइएको छ ।

बिहान गाजा सहरको एउटा घरलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको र धेरै घाइते भएको बासलले बताउनुभयो । बीस महिनाभन्दा बढीको युद्धपछि क्षेत्रभरि अनिकाल परेका कारण हजारौँ प्यालेस्टिनी गाजामा खाद्यान्न रासन प्राप्त गर्ने आशामा दैनिक भेला हुने गरेका छन् ।

हमासद्वारा सञ्चालित गाजा पट्टीमा स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्कअनुसार मे महिनाको अन्त्यदेखि सहायता माग्दै गर्दा इजरायली आक्रमण्मा कम्तीमा चार सय ५० जनाको मृत्यु भएको र करिब तीन हजार पाँच सय जना घाइते भएका छन् ।

उद्धारकर्ताहरूका अनुसार तीमध्ये धेरै गाजा ह्युमेनिटेरियन फाउन्डेसनद्वारा सञ्चालित साइटहरू नजिकै रहेका छन् ।

गाजामा निजी रूपमा सञ्चालित फाउन्डेसनको सञ्चालन अराजक दृश्यहरूले बिगारेको छ । संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र प्रमुख सहायता समूहहरूले यसलाई इजरायली सैन्य उद्देश्यहरू पूरा गर्न डिजाइन गरिएको चिन्ताका कारण सहयोग गर्न अस्वीकार गरेका छन् । इजरायलले इरानसँग युद्धविराम गर्न सहमत भएको घोषणा गरेपछि इजरायलका विपक्षी नेताले मङ्गलबार गाजामा युद्ध अन्त्य गर्न आह्वान गरेका छन् ।

“अनि अब गाजा । यो त्यहाँ पनि समाप्त गर्ने समय हो । बन्धकहरूलाई फिर्ता ल्याउनुहोस्, युद्धको अन्त्य गर्नुहोस्”, यायर लापिडले एक्समा लेख्नुभयो । (रासस\एएफपी)

तपाईको प्रतिक्रिया