स्थानीय तह सङ्घीयताको मेरुदण्ड हुन्ः मन्त्री गुप्ता

  असार १०, २०८२

काठमाडौँ, १० असारः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले स्थानीय तहलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मेरुदण्डका रूपमा परिभाषित गर्नुभएको छ । नागार्जुन नगरपालिकाको ११औँ नगरसभा उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै मन्त्री गुप्ताले स्थानीय तहमार्फत जनतासम्म सेवा, विकास र सुशासन पु¥याउन सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय सरकारहरू नागरिकका नजिकको सरकार हुन्, ती नै सङ्घीयताको मेरुदण्ड हुन् । जब स्थानीय तह सबल र पारदर्शी हुन्छन्, तब मुलुक समृद्धिको दिशामा अगाडि बढ्छ ।”

मन्त्री गुप्ताले नागार्जुन नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटलाई सन्तुलित तथा समावेशी भन्दै प्रशंसा गर्नुभयो । उहाँले शिक्षामा गुणस्तर वृद्धि, पूर्वाधार विकास, स्वास्थ्य पहुँच, वातावरण संरक्षण तथा सूचना प्रविधिमा नगरपालिकाको प्राथमिकता स्वागतयोग्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागार्जुन नगरपालिकाले समावेशी विकासको दृष्टिकोण अपनाउँदै सबै वर्ग र समुदायलाई समेट्ने प्रयास गरिरहेको छ, जुन अत्यन्त सराहनीय छ । अन्य पालिकाले पनि यस्तो अभ्यासबाट प्रेरणा लिनुपर्छ ।”

नगरसभामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र विभिन्न निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो ।राष्ट्रिय समाचार समिति (रासस)

तपाईको प्रतिक्रिया