मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादन गर्ने

  असार १०, २०८२

मोरङ, १० असार : यहाँको बूढीगङ्गा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु गरेको छ । विश्वविद्यालयले मधुमेहसम्बन्धी उपचारमा प्रयोग हुने औषधिको अनुसन्धान गरी उत्पादन सुरु गर्ने तयारी गरेको हो ।

विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले सोमबार ‘उपकुलपतिसँग पत्रकार’ कार्यक्रम सञ्चालन गर्दै नेपाली जडीबुटीको प्रयोग गरी मधुमेह रोगको उपचार विधि र पद्दतिलाई महत्त्व दिँदै उत्पादनसम्बन्धी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले चालु शैक्षिकसत्रमा विश्वविद्यालयले १० वटा विभिन्न विषयमा अनुसन्धान गरिरहेको बताउनुभयो ।

उपकुलपति पोखरेलका अनुसार दश वटा अनुसन्धानमध्ये मधुमेह रोगको उपचार गर्ने र ब्याक्टेरियोफेजसम्बन्धी अनुसन्धानलाई विशेष महत्त्वका साथ अगाडि बढाइएको छ । आफ्नै प्रयोगशालामा अनुसन्धान गरी विभिन्न आयुर्वेदिक औषधिसम्बन्धी उत्पादनको तयारी भइरहेको उहाँको भनाइ छ ।

उहाँले तह १ देखि तह ५ सम्मको ‘स्किल टेष्ट’ पास गरिसकेका विद्यार्थीलाई तह ६ देखि तह ८ सम्मको अध्ययन गराउने योजनाअनुसार विश्वविद्यालय अघि बढेकोे धारणा व्यक्त गर्नुभयो । उपकुलपति पोखरेलले विश्वविद्यालयमा स्नातक र स्नातकोत्तरअन्तर्गतका विभिन्न कार्यक्रममा ३२२ विद्यार्थी अध्ययनरत रहेका जानकारी दिनुभयो ।

कोसी प्रदेश सरकारले विसं २०७६ मा स्थापना गरेको विश्वविद्यालय मुलुकभित्रको पहिलो प्राविधिक विश्वविद्यालय हो । उपकुलपति पोखरेलले मुलुकको पहिलो प्राविधिक विश्वविद्यालय भए पनि प्रदेश सरकारबाट अपेक्षित रूपमा बजेट विनियोजन नभएको गुनासो व्यक्त गर्नुभयो ।

विश्वविद्यालयले प्रदेश सरकारसँग आगामी आर्थिक वर्षका लागि रु ३७ करोड बजेट माग गरेकामा रु १४ करोड मात्र विनियोजन भएको उपकुलपति पोखरेलले उल्लेख गर्नुभयो । उहाँले कूल बजेटको शून्य दशमलव पाँच प्रतिशत मात्रै विनियोजन हुनु दुःखद् भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया