तेहरान, ९ असार : इजरायलले तेहरानको दक्षिणमा रहेको इरानको भूमिगत आणविक स्थल फोर्डोमा पुनः आक्रमण गरेको छ । “आक्रमणकारी (इजरायल) ले फेरि फोर्डो आणविक स्थलमा आक्रमण गरेको छ,” कोम प्रान्तको सङ्कट व्यवस्थापन प्राधिकरणका प्रवक्तालाई उदृत गर्दै तस्निम न्यूज एजेन्सीले जनाएको छ ।
संयुक्त राज्य अमेरिकाले इरानको फोर्डो आणविक केन्द्र तथा इस्फाहान र नातान्जलगायतका स्थलहरूमा अभूतपूर्व आक्रमण गरेको एक दिनपछि पछिल्लो आक्रमण भएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई ‘समाप्त’ पारेको बताउनुभएको छ तर अन्य अधिकारीहरूले इरानको आणविक कार्यक्रममा वास्तविक प्रभावको आँकलन गर्न धेरै चाँडो हुने बताएका छन् ।
इरानले उक्त आक्रमणको निन्दा गर्दै अमेरिकी आक्रमणपछि ’प्रदूषणको कुनै सङ्केत नदेखिएको’ उल्लेख गर्दै प्रतिशोधको प्रतिबद्धता जनाएको छ । अमेरिकाले इरानमाथि आक्रमण गरी इरानका आणविक वैज्ञानिक, शीर्ष सैन्य कमान्डरको मृत्यु हुनुका साथै सैन्य अखडा, आणविक स्थल र आवासीय क्षेत्रमा प्रभाव परेको थियो । (रासस/एएफपी)