किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन

  ११ घण्टा अगाडि

किएभ, ९ असार : युक्रेनी शीर्ष सैन्य कमान्डरले रुसमाथि आक्रमण तीव्र पार्ने वाचा गरेको एक दिनपछि युक्रेनले सोमबार राजधानी किएभमा भएको आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको बताएको छ । राजधानीमा अर्को आक्रमण भएको किएभको सैन्य प्रशासनका प्रमुख तिमुर ताकाचेन्कोले एक विज्ञप्तिमार्फत बताउनुभएको हो । 

गृहमन्त्री इगोर क्लेमेन्कोले सेभचेन्किभ्स्की जिल्लामा चार जनाको मृत्यु हुनुका साथै आवासीय भवनको एक भाग ध्वस्त भएको तथा दक्षिणी बिला त्सेर्कवामा अर्को व्यक्तिको मृत्यु भएको बताउनुभएको छ । युक्रेनी सेना प्रमुख ओलेक्सान्डर सिरस्कीले रूसमाथि आक्रमण तीव्र पार्ने वाचा गरेपछि पछिल्लो आक्रमण भएको हो ।

किएभले रूसविरूद्ध गरेको पछिल्लो आक्रमण ‘प्रभावकारी’ साबित भएको जनाउँदै सिरस्कीले युक्रेनले रूसी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण जारी राख्ने बताउनुभयो । ऊर्जा र सैन्य पूर्वाधारलाई लक्षित गरी युक्रेनी पूर्वाधार र नागरिकमाथिको घातक रूसी आक्रमणहरूको उचित प्रतिक्रियासहित जवाफी हमला गरेको किएभले बताएको छ ।

पूर्वी युक्रेनी सहर क्रामटोस्र्कको एउटा अपार्टमेन्टमा भएको रूसी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । यसैगरी युक्रेनी सेनाको प्रशिक्षण मैदानमा भएको आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया