वडा कार्यालयको पहलमा विपन्नलाई बिमा

  १५ घण्टा अगाडि

कञ्चनपुर, ९ असार : यहाँको शुक्लाफाँटा नगरपालिका–१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै अतिविपन्न ३० परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवा पहुँचमा नरहेका परिवारका लागि वडाले वार्षिक रु एक लाख पाँच हजार बराबरको बिमा प्रिमियम तिरिदिएको हो ।

“आर्थिक अवस्था कमजोर बिमा प्रिमियम तिर्न नसक्ने नागरिकलाई प्राथमिकतामा राखेर बिमामा आबद्ध गराएका छौँ”, वडाअध्यक्ष लालबहादुर ऐरले भन्नुभयो, “वडाले प्रत्येक परिवारलाई रु तीन हजार ५००का दरले पाँच सदस्यको बिमा गराएको छ ।”

विपन्न परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराएपछि स्वास्थ्योपचार खर्चमा हुने आर्थिक भार घट्ने, स्वास्थ्य सेवा पहुँचमा रहेका असमानता हट्ने, गरिब तथा जोखिममा परेका समूहलाई विशेष सुरक्षा प्रदान हुने उहाँले बताउनुभयो ।

“एक व्यक्तिको प्रिमियममा पाँच सदस्यसम्म स्वास्थ्य सेवा लिन सक्छन्”, वडा कार्यालयका कर्मचारी केशव जोशीले भन्नुभयो, “दीर्घरोग, सुत्केरी सेवा, आकस्मिक सेवालगायत उपचार हुने कार्यसँगै वार्षिक रु तीन हजार पाँच सयमा पाँच सदस्य परिवारसम्म र त्यसपछि प्रतिसदस्य रु सात सय अतिरिक्तमा स्वास्थ्य बिमा उपलब्ध गराउने व्यवस्था छ ।”

उहाँका अनुसार ७० वर्षमाथि, अतिगरिब, अशक्त, अपाङ्गता भएकाहरूले प्रिमियममा पूर्ण छुट पाउँछन् । वडा कार्यालयले आव २०७९÷८० मा ४० अतिविपन्न परिवारको बिमा गराएको थियो । यो पहलले विपन्न नागरिकमा सरकारी सेवाको पहुँच महसुस गराएको स्थानीय बासिन्दाको भनाइ छ ।

स्थानीय बमन रानाले भन्नुभयो, “बिमा गर्न सक्ने हैसियत थिएन, वडाले रकम तिरेपछि हामीजस्ता गरिबलाई उपचारमा राहत मिलेको छ ।”

तपाईको प्रतिक्रिया