सिरहा, ८ असार : यहाँको लहान नगरपालिका–१३ स्थित दलित बाहुल्यता रहेको जनता आधारभूत विद्यालयमा थप दुई कोठे भवनको शिलान्यास भएको छ ।
नगर प्रमुख महेशप्रसाद चौधरी र वडा अध्यक्ष मनोज कोइरालाले संयुक्तरूपमा शनिबार भवनको शिलान्यास गर्नुभएको हो । रु २६ लाख ४४ हजार लागतमा निर्माण हुने उक्त भवनमा गैर सरकारी संस्था ‘एक्सन एड’ नेपालको आर्थिक सहयोगमा दलित जनकल्याण युवा क्लब र लहान नगरपालिकाको साझेदारी रहेको छ । यो संरचनाले विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउने नगरप्रमुख महेशप्रसाद चौधरीले विश्वास व्यक्त गर्नुभयो ।
दुई कोठे उक्ता भवनको शिलान्यासपछि नगरप्रमुख महेशप्रसाद चौधरीले भन्नुभयो, “शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालयको भौतिक संरचना मजबुत हुनु आवश्यक छ । त्यसका लागि निर्माण हुने यो दुई कोठे भवनले सहजता ल्याउँछ ।” उहाँले दलित जनकल्याण युवा क्लब र लहान नगरपालिकाको सहकार्यले बनेको यो भवनले विद्यार्थीको सिकाइ प्रक्रियामा सहजता ल्याउने विश्वास व्यक्त गर्दै विद्यालयको समग्र विकासमा नगरपालिका सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
विगत लामो समयदेखि सिरहाका विभिन्न पालिका तथा स्थानमा विपन्न दलितहरूको उत्थान र जीविकोपार्जनमा निरन्तर काम गरिरहेको संस्था दलित जनकल्याण युवा क्लबका अध्यक्ष विनोद बिसुङ्खेले यस ठाउँमा दलित विद्यार्थीको बाहुल्यता रहेको र भौतिक संरचना जीर्ण रहेकाले आफूहरूले यस विद्यालयमा थप दुई कोठे भनव निर्माणमा जोड दिएको बताउनुभयो । उहाँले विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणमार्फत गुणस्तरीय शिक्षा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको धारण राख्नुभयो ।
विद्यालयका प्रधानाध्यापक हजारी साहका अनुसार एक सय ६५ जना छात्रछात्रा विद्यालयमा अध्ययनरत रहेका छन् । भवन निर्माण समितिका अनुसार आगामी पुस पहिलो हप्तासम्म भवन निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ ।
त्यसैगरी दलित बाहुल्यता रहेको लहानकै वडा नं २२ स्थित जहदीसिसवनी आधारभूत विद्यालयमा थप चार कोठे भवन निर्माणको अन्तिम चरणमा रहेको दलित जनकल्याण युवा क्लबका अध्यक्ष बिसुङ्खेले जानकारी दिनुभयो । उहाँका अनुसार ‘एक्सन एड’को रु ६२ लाख, नगरपालिकाको रु १५ लाख र वडाको रु पाँच लाख गरी रु ८२ लाख लागतमा गत मङ्सिरमा शिलान्यास भई निर्माणको काम भइरहेको छ ।