सिमकोट (हुम्ला), ८ असार : चङ्खेली गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट वञ्चित भएका छन् ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छामको मासिधारामा रहेको टावर बिग्रेका कारण यही असार १ गतेदेखि सञ्चार सेवा अवरुद्ध भएको स्थानीय हिराबहादुर शाहीले बताउनुभयो । टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, मासिधारा, दार्मा, पुमालगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् ।
यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ । फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने स्थानीयवासी कुसुम बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “एक महिनादेखि टेलिफोनले काम गरिरहेको छैन, जिल्लाबाहिर रहेका आफन्तसँग फोनमा राम्रोसँग कुराकानी हुन पाएको छैन ।”