राजनीतिक सङ्कट कम गर्ने प्रयासमा थाई प्रधानमन्त्रीको सेनाका कमान्डरसँग भेट

  ७ घण्टा अगाडि

बैङ्कक, ६ असार : थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले शुक्रबार एक सेना कमान्डरसँग मेलमिलापको वार्ता गर्नुभएको छ । उहाँले आफ्नो सरकारलाई अपदस्थ गर्ने धम्की दिने सङ्कटलाई कम गर्न सङ्घर्ष गर्दा लिक भएको फोन कलमा ती कमान्डरको आलोचना गर्नुभएको थियो ।

विवादास्पद अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी एवं एक वर्षभन्दा कम समयदेखि पदमा रहनुभएकी पेटोङटार्नले पूर्व कम्बोडियाली नेता हुन सेनसँगको कलका कारण राजीनामा दिन वा चुनावको घोषणा गर्न दबाब सामना गरिरहनुभएको छ ।

उहाँको मुख्य गठबन्धन साझेदार, रूढिवादी भुमजाइथाई पार्टी बुधबार सरकारबाट बाहिरिएको छ । उक्त पार्टीले पेटोङटार्नले देश र सेनाको अपमान गर्नुभएको र उहाँको सरकारलाई पतनको विन्दुमा छाडेको बताएको छ । उहाँले प्रधानमन्त्री पदबाट नहटेसम्म गठबन्धनको अर्को साझेदारले पद छोड्ने धम्की दिएको खबर सार्वजनिक भएपछि शुक्रबार उहाँलाई अर्को झट्का लागेको छ । यो सङ्कटले थाई सेयर बजारलाई पाँच वर्षको तल्लो तहमा झारेको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीसहितको व्यापार भन्सार शुल्कका साथ राज्यले आफ्नो सुस्त अर्थतन्त्रलाई उक्साउन सङ्घर्ष गरिरहेको छ ।

हुन सेनसँगको कुराकानीमा लेफ्टिनेन्ट जनरल बुन्सिन प्याडक्लाङलाई ‘प्रतिद्वन्द्वी’ का रूपमा अपमान गरेको फोन कल लिक भएपछि सम्बन्ध सुधार्न ३८ वर्षीया पेटोङटार्नले शुक्रबार उत्तरपूर्वी थाइल्यान्डमा सेनाको भ्रमण गरी लेफ्टिनेन्ट जनरल बुन्सिन प्याडक्लाङसँग भेट गर्नुभएको छ । लामो समयदेखिको विवाद गत महिना घातक झडपमा बदलिएको कम्बोडियासँगको सिमानामा बुन्सिनले थाई सेनाको कमान्ड गर्नुहुन्छ र पेटोङटार्नका बारेमा आलोचनाले दक्षिणपन्थी राष्ट्रवादी आलोचकहरूबाट अविश्वासको आरोप ल्याएको छ । उहाँहरूको भेटपछि पेटोङटार्नले मामिला समाधान भएको बताउनुभयो ।

“यो धेरै राम्रो भयो । मैले कमान्डरसँग कुरा गरेको छु र अब कुनै समस्या छैन”, उहाँले पत्रकारहरूलाई भन्नुभयो ।

आफ्नो पक्षबाट बुन्सिनले भन्नुभयो, “सबै कुरा सामान्य छ ।”

– अल्टिमेटम –

बुन्सिनसँगको भेटपछि पेटोङटार्नले बिहीबार सैन्य र प्रहरी प्रमुखहरूद्वारा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक माफी मागेपछि उहाँमाथि दबाब बढेको थियो । एक चलाक अपरेटरका रूपमा चिनिने अनुभवी राजनीतिज्ञ हुन सेनसँगको कुराकानीमा पेटोङटार्नलाई कमजोर र अपमानजनक भएको भन्दै आलोचना गरिएको थियो, तर सेनाका कमान्डरका बारेमा उहाँको टिप्पणी सम्भवतः उहाँका लागि सबैभन्दा हानिकारक थियो । थाइल्यान्डको सशस्त्र बलले लामो समयदेखि राज्यको राजनीतिमा शक्तिशाली भूमिका खेलेको छ र राजनीतिज्ञहरू प्रायः उनीहरूको विरोध नगर्न सावधान रहन्छन् । सेनाका कमान्डरसँग क्षमा याचना र स्पष्ट मेलमिलाप पेटोङटार्नको प्रधानमन्त्री पद बचाउन पर्याप्त नहुन सक्छ । भुमजाइथाईको प्रस्थानले सरकारको गठबन्धनलाई संसद्मा अत्यन्त झिनो बहुमत छोडेको छ र अर्को साझेदार गुमाउँदा यो सम्भवतः पतन हुनेछ । कन्जरभेटिभ डेमोक्रेट पार्टीले गठबन्धनमा रहने वाचा गरेपछि शुक्रबार बिहान पेटोङटार्नका लागि राम्रो खबरको झलक देखिएको छ ।

यद्यपि सार्वजनिक प्रसारणकर्ता थाईपिबिएसले ३६ सिट भएको र अहिले फेउ थाईपछि गठबन्धनमा सबैभन्दा ठूलो पार्टी रहेको युनाइटेड थाई नेसन (युटिएन) पार्टीले पद छोड्ने विचार गरिरहेको बताएको छ । प्रसारणकर्ताका अनुसार युटिएनले पेटोङटार्नलाई अल्टिमेटम जारी गर्न गइरहेको छः या त उहाँले प्रधानमन्त्रीको पद छाड्नुहन्छ वा उनीहरूले फिर्ता लिन्छन्, सरकारलाई ढाल्छन् । युटिएनभित्र विभाजनका सुझावहरू पनि छन्, तर सरकारको बहुमत अहिले यति सानो छ कि पार्टीका आधा सांसदहरू मात्र गए पनि यो घातक हुनसक्छ ।

– सडक प्रदर्शनको खतरा –

पेटोङटार्नले सडक प्रदर्शनको सम्भावनाको सामना पनि गर्न सक्नुहुनेछ किनकि उहाँको परिवारसँग सम्बन्धित पूर्व नेताहरूलाई डुबाउन मद्दत गर्ने विशाल प्रदर्शनहरूमा संलग्न राजनीतिक कार्यकर्ताहरूले उहाँलाई जान आह्वान गरेका छन् । कार्यकर्ताहरूले शनिबार मध्य बैङ्ककमा र अर्को जुन २८ मा ¥यालीको आह्वान गरेका छन्, यद्यपि पेटोङटार्न यति लामो समयसम्म टिक्नुहुन्छ कि हुन्न भनेर हेर्न बाँकी छ । उहाँले गत वर्ष अगस्टमा फेउ थाई र रूढीवादी, सैन्य समर्थक दलहरूको समूहबीचको असहज गठबन्धनको नेतृत्वमा पदभार ग्रहण गर्नुभएको थियो । सैन्य समर्थक दलहरूका सदस्यहरूले विगत २० वर्षको धेरै समय उहाँका बुबासँग लडिरहेका छन् ।

दुई पटक निर्वाचित प्रधानमन्त्री थाक्सिनलाई सन् २००६ मा सैन्य कूबाट बाहिर हटाइएको थियो र रूढीवादी, शाही प्रतिष्ठान र उहाँले स्थापना गरेको राजनीतिक आन्दोलनबीचको कटु द्वन्द्वले त्यस समयमा थाई राजनीतिमा प्रभुत्व जमाएको छ । सन् २०२३ मा राजीनामा दिनुभएका कम्बोडियाका लामो समयका शासक तथा थाक्सिनसँग घनिष्ठ सम्बन्ध राख्नुभएका हुन सेनले शुक्रबार चुहिएको कलको विवादले ‘हाम्रा दुई परिवारबीचको ३० वर्षभन्दा बढीको हार्दिक बन्धन’ लाई ‘चकनाचुर’ पारेको बताउनुभयो । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया