संसद्मा प्रतिपक्षीको विरोध, प्रधानमन्त्रीको प्रश्नोत्तर प्रभावित

  ७ घण्टा अगाडि

काठमाडौँ, ६ असार : प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरुको प्रश्नको जवाफ दिने निर्धारित कार्यक्रम प्रभावित भएको छ ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरे लगत्तै दुवै दलका सांसद आफ्नो आसनबाट उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि सभामुख घिमिरेले विरोधमा उभिनुभएका सांसदहरुलाई विनियोजन विधेयकमाथिको छलफल सक्नुपर्ने र प्रश्नउत्तरलगायतका कार्यक्रम अगाडि बढाउनुपर्ने भएकाले त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।

सभामुखको आग्रहलाई अवज्ञा गर्दै दुवै पार्टीका सांसदहरु आफ्नो आसनमा नबसेपछि सभामुखले प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची तय भएको थियो । त्यसपछि दुवै दलका सांसद बैठक छोडेर निस्किनुभयो । सदनमा विनियोजन विधेयकमाथिको छलफल भने अघि बढाइएको छ ।

यसैबीच प्रतिनिधिसभाको आजको बैठकमा छलफलका निर्धारित युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल हुने कार्यसूची हटाइएको छ । दुवै मन्त्रालयका मन्त्री अनुपस्थित भएपछि उक्त छलफल कार्यसूचीबाट हटाइएको सभामुख घिमिरेले जानकारी दिनुभयो ।

प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुसँग सरसल्लाह नगरी कार्यसुचीबाट हटाइएको विषयमा असहमति जनाउनुभयो । उहाँले सम्बन्धित मन्त्रीको अनुपस्थितीमा विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाउन नहुने धारण राखेपछि ती मन्त्रालयमाथिको छलफलको कार्यसूची हटाइएको हो ।

बैठकमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया