दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु : प्रधानमन्त्री

  ६ घण्टा अगाडि

काठमाडौँ, ६ असार : दैलेखको जलजलेमा गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँस अन्वेषणको प्रारम्भिक नतीजा आएपछि प्रधानमन्त्री केपी शर्माओलीले सामाजिक सञ्जालमार्फत् अन्वेषण सुरू गर्दाका प्रारम्भिक दिनहरू स्मरण गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु ।’  

चीनको जिओलोजिकल सर्भे कम्पनीले ड्रिलिङ कार्यबाट प्राप्त प्रारम्भिक प्रतिवेदन बुझाएको केही दिनमा उनको प्रतिक्रिया आएको हो ।

दैलेखका विभिन्न ४ वटा स्थानमा मिथेन ग्याँसको भण्डारण रहेकोले यसले नेपाललाई ५० वर्षसम्म पुग्ने कुरा नेपाल सरकारमा सम्बन्धित मन्त्रीले नै बताइसकेका छन् ।

०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो कुवाको ड्रिलिङको काम चार हजार १३ मिटर गहिराइमा पुगेको थियो । प्रारम्भिक प्रतिवेदनअनुसार एक अर्ब १२ करोड घन मिटर मिथेन ग्याँस भएको अनुमान छ । मिथेन ग्याँस कति छ भन्ने बारेमा पनि मतभेदहरू देखिएका छन् । संचारमाध्यमहरूले पनि फरक फरक तथ्यांक राखेको देखिन्छ ।

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिँदै ओलीले समर्थन र विरोधका थरिथरिका आवाज सुन्नुपरेको बताएका छन् । उनले फेसबुक स्टाटसमा लेखेका छन्,  ‘११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ । यो खुसीको समाचार हो ।’

तपाईको प्रतिक्रिया