प्रतिपक्षी अनुपस्थित भएपछि प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगन

  १० घण्टा अगाडि

कर्णाली, ५ असारः कर्णाली प्रदेशसभाको आज बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) उपस्थित नभएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

बैठकमा नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्षी दलका सांसद बस्ने कुर्सी खाली भएको उल्लेख गर्दै सभाको परम्परा र कानुनी प्रावधानअनुसार सदन अगाडि बढाउन उपयुक्त नभएको सुझाव दिनुभयो । नेता शाहीको सुझावपछि सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित भएको जानकारी गर्नुभयो ।

कर्णाली प्रदेशसभा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक कृष्णबहादुर जिसीले सरकारले आफूहरुले उठाएको विषय सम्बोधन नगरी बजेट ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बजेट कानुनसम्मत छैन, सरकार असफल भएसक्यो ।” माओवादी केन्द्रले ‘आयोजना बैंक’लगायतका विषयमा असहमति जनाएपछि भएको ढिलाइले असार १ गते प्रदेश सरकारले मध्यराति बजेट प्रस्तुत गरेको थियो ।

संवैधानिक व्यवस्थाका कारण बजेट प्रस्तुत गर्न दिए पनि आफूले उठान गरेका विषय सम्बोधन नभएसम्म सदनका काम कारबाही अगाडि नबढाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया