इजरायल र इरानबीचको युद्धमा नेपालीको सुरक्षा र उद्धारप्रति सरकारको ध्यानार्कषण

  ९ घण्टा अगाडि

काठमाडौँ, ५ असार : इजरायल र इरानबीच युद्ध चर्किएसँगै त्यहाँ रहेका नेपालीहरुको स्थिति, सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल बढाउन सांसदहरुले सरकारको ध्यानार्कषण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले नेपाल फर्किन चाहने र उद्धारको माग गर्ने नेपालीहरुसँग तत्काल सम्पर्क गरी सोहीअनुसार यी दुई देशसँग समन्वय एवं कूटनीतिक पहलकदमी बढाउन सभाअध्यक्षमार्फत परराष्ट्र मन्त्रालयको ध्यानार्कषण गराउनुभयो ।

विश्व शान्तिको कामना गर्दै राष्ट्रियसभा सदस्यहरुले यसबाट नेपाललाई पर्ने सम्भावित खतराबारे सरकारलाई सतर्कता अपनाउनसमेत आग्रह गर्नुभयो । विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले इजरायल र इरान युद्धको मारमा नेपालीको स्थिति र सुरक्षाबारे सरकारलाई सदनसमक्ष जानकारी गराउन माग गर्नुभयो ।

विशेष समयमा दलीय आधारमा उपलब्ध समयमा नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगर, नेपाली कांग्रेसका सांसद पदमबहादुर परियार र नेकपा(एमाले)का सांसद भगवती न्यौपानेले इजरायल र इरानयुद्धले नेपालमा पर्ने प्रभावबारे सरकारको ध्यानार्कषण गराउनुभयो ।

“इजरायलमा झण्डै सात हजार र इरानमा एक दर्जन नेपाली छन् । सरकारले उहाँहरुको सुरक्षाका लागि केही कदम पनि चालेको छ, कूटनीतिक पहलबाट स्वदेश फर्किन चाहनेलाई तत्काल फिर्ता गरियोस”, सांसद न्यौपानेले भन्नुभयो ।

विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद जितजङग बस्नेतले राजावादी र राजाका समर्थकले विद्यमान राजनीतिक व्यवस्थाप्रति गलत भाष्य निर्माण गरिरहेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । “यो देश हामीले बनाउने हो । गणतन्त्र हामीले ल्याएका हौँ । हामीले राजा हटाएका हौँ, अब राजा आउन सक्दैन”, सांसद बस्नेतले भन्नुभयो ।

नेकपा(माओवादी केन्द्र)का सांसद भुवनबहादुर सुनारले राज्य सञ्चालनको नेतृत्वमा रहेका नेताहरु इमान्दार र नैतिकवान बन्न नसकेको राय व्यक्त गर्नुभयो । मधेसका जनता सामाजिक न्यायको पहुँचबाट टाढा रहेकाले राज्यले अभिभावकत्व ग्रहण गर्न चुकिरहेको उहाँको भनाइ थियो ।

“मधेशको अवस्था विकराल छ । सरकारको ध्यानार्कषण गराएँ, तर सरकार मौन छ । मधेशको समस्या ज्यूँका त्यू छ”, सांसद सुनारले भन्नुभयो । जनता समाजवादी पार्टी नेपालका सांसद पूजा चौधरीले कर्मचारी व्यवस्थापनमा दीर्घकालीन सुधार ल्याउन र स्थानीय तहको सेवा प्रवाह अवरुद्ध नहुने नीति निर्माणका लागि सङ्घीय सरकारको ध्यानार्कषण गराउनुभयो ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)का सांसद विष्णुबहादुर विश्वकर्माले कर्णालीलाई विकास पूर्वाधार निर्माण, विद्युत्, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र खाद्यान्नलगायत विषयमा जोडिदै जानु विद्यमान राजनीतिक व्यवस्थाको उपलब्धि भएको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया