द्वन्द्वकालमा घाइते परिवारको कथामा बन्यो चलचित्र ‘सिटामोल’

  १२ घण्टा अगाडि

काठमाडौँ, ३ असार : द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेर तयार गरिएको चलचित्र ‘सिटामोल’ आगामी साउन २३ मा प्रदर्शन हुने भएको छ । चलचित्रमा समावेश गीत ‘झुम्का कानैमा’ सार्वजनिक गर्दै चलचित्रका निर्देशक राजबहादुर सानेले आफ्नो निर्देशन यात्रालाई फरक ढङ्गले परिभाषित गर्ने काम गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “विगतमा मैले गरेको कामभन्दा यो निकै फरक छ । यसपटक मैले रोजेको कथा र त्यसमा लेखिएका चरित्रमा जीवन्त बनाउनुभएका कलाकारले गर्दा भिन्न रूपमा आएको छु । यो चलचित्रले माओवादी द्वन्द्वकालमा घाइते भएको एक व्यक्ति र उसको परिवारको कथालाई समेटेको छ ।”

उहाँले यसलाई सिन्धुलीमा छायाङ्कन गर्नुभएको जानकारी दिनुभयो । अभिनेता सौगात मल्लले पनि चलचित्र जोडिनाका कारण विषय र युद्ध लडेको लडाकुको जीवनसँगको सङ्घर्ष रहेको बताउनुभयो ।

“समाज र देश परिवर्तन गर्न युद्धमा होमिएको एउटा व्यक्तिले आफ्नो जीविकोपार्जनका लागि गर्नुपरेको सङ्घर्ष कम छैन । यो एउटा द्वन्द्वको प्रभाव परेको व्यक्ति र उसको परिवारको कथा हो । यसले हाम्रो सोचाइमा परिवर्तन ल्याउँछ जस्तो लाग्छ”, अभिनेता मल्लले भन्नुभयो ।

चलचित्रमा अभिनेता मल्लसँगै अभिनेत्री बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मीलगायतका कलाकारले अभिनय गर्नुभएको छ । उक्त चलचित्रको कथा निर्देशक सुनुवारसँगै प्रदीप भारद्वाजले लेख्नुभएको हो ।

तपाईको प्रतिक्रिया